
काठमाडौं, ११ फागुन । जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ विभिन्न कालखण्डमा चर्चाको विषय बन्ने गर्छ । आईतबार थवाङमा भिभिआइपीको लस्कर लागेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन सरकारका दुई बहालवाला मन्त्री, पूर्वसभामुख र पूर्व मन्त्री सहित पुगेका छन् ।

उपराष्ट्रपति पुनका साथमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त, पूर्व सभामुख ओनसरी घर्ती मगर र शिक्षामन्त्री गिरिराज मणि पोखरेल पनि थवाङ आएका हुन् । टोलीमा पूर्व मन्त्री दलजीत श्रीपाली पनि छन् ।
उपराष्ट्रपति पुन पढेको थवाङस्थित वीर भलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्ने कार्यक्रममा सहभागी हुन उनीहरुको भिड लागेको हो । टोलीलाई थवाङमा बाजागाजासहित स्वागत गरिएको छ ।
उपराष्ट्रपति पुनले आफू सात वर्षपछि थवाङ आएको बताए । उपराष्ट्रपति भएपछि उनको यो पहिलो थवाङ आगमन हो ।
उपराष्ट्रपति पुनले थवाङको परम्परागत स्वरुपमा धेरै परिवर्तन आएको अनुभूति गरेको उल्लेख गरे ।

‘म आउँदा सडक थिएन । अहिले फराकिलो सडक बनिसकेछ । थवाङले विकासको स्वाद चाख्न थालेछ ।’ उपराष्ट्रपति पुनले भने ।