
काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार जनतामा चौतर्फी आलोचित छ । आलोचनाकै बीचमा फेरी अर्को इट्टा थपिएको छ— प्रधानमन्त्रीको जन्मोत्सव । चार वटा हेलिकोप्टर सहित जन्मोत्सव मनाउन पुख्र्यौली घर अठराई पुगेका उनी फेरी विवादमा मुछिएका छन् ।
विवादको कारण हो — उनको राजसी छाँटाँट । उनको जन्मोत्सवमा विद्यार्थीलाई ट्याक्टरमा ओसारिएको थियो भने आफूसहित आफ्ना आसेपासेलाई ३ वटा सैनिक हेलिकोप्टर सहित एक नीजि हेलिकोप्टर चार्टर गरिएको थियो ।
बालुवाटार स्थित बिग केकमा निर्माण गरिएको नेपालको नक्सा आकारको १५ किलोको केक बोकेर यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा आफ्नै स्वामित्वको एयर अल्टिच्युडको हेलिकोप्टरमा केक बोकेर ओलीको जन्मगाउँ पुगेका थिए ।

सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।
यति समुहका कारण विवादमा आएका प्रधानमन्त्री ओलीलाई फेरी यति समुहले नै फसाएको विश्लेषण हुन थालेको छ । नेपालको नक्सा काटेर जन्मदिन मनाएको भन्दै कार्यकर्ताले चौतर्फी आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटासहित यति समुहका अन्य कर्मचारी समेत जन्मघर पुगेका थिए । ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । आज प्रकाशित नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्रीसहितका मन्त्री र नेताहरू चढेको हेलिकप्टर ल्याण्ड गराउन आठराइ गाउँपालिकाको पहलमा ओलीनिवास छेउमै हेलिप्याड बनाइएको थियो ।

नेकपाको स्थानीय कमिटीले दुई÷तीन महिना अघिदेखि ओलीको स्वागतको तयारी गरेको थियो । प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा पत्नी राधिका शाक्यसहित पाँचथर हुँदै सवा एक बजे आठराइ उत्रिएका थिए । सेनाकै अर्को हेलिकप्टमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए ।