मेगा बैंक २ करोड ९ लाख ठगी प्रकरण : सिइओ अनुपमा खुँजेली नै समलग्न भएको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, १४ फागुन । नेपालको बैंकिङ इतिहासमा आजभन्दा ६ वर्षअघि एउटा रहस्यमयी घटना भयो । २०७० माघ १२ र १३ गतेको त्यो घटनाले बैंकिङ क्षेत्रलाई नै झट्कारिदियो—जसलाई मेगा बैंक ठगी प्रकरण नामले अहिले पनि सम्झाइरहन्छ ।


मेगा बैंकको कान्तिपथ मुख्यशाखामा रहेको तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकको खाता नम्बर — ००१००६०३५८३८६ मा रहेको मौज्दात रकमबाट माघ १२ गते ९ लाख ९० हजार रुपैयाँ र भोलीपल्ट २ करोड रुपैयाँ चेकबाट डेबिट गरियो । तर, टुरिजम बैंकले आधिकारीक रुपमा मेघा बैंकबाट रकम भुक्तानीको लागि चेक काटेको थिएन । अर्थात मेगा बैंकको खाताबाट २ करोड ९० लाख ९० हजार लुटपाट गरियो ।


लुटपाट विरुद्धको उजुरी पश्चात प्रहरीले प्रारम्भीक अनुसन्धान थाल्यो । अनुसन्धानमा टुरिजम विकास बैंकबाट कुनै पनि चेक नकाटिएको पाइयो । तत्कालिन टुरिजम विकास बैंकको मेगा बैंकमा रहेको खाताबाट सञ्जय ढकालले ९ लाख ९० हजार टुरिजम विकास बैंकको चेकबाट भुक्तानी भएको देखियो । राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखामा रहेको ढकालको खाता नम्बर ९२८१९०००० मा टुरिजम विकास बैंकको चेकबाट क्लियरिङ मार्फत रु. करोड रुपैयाँ भुक्तानी भएको देखियो । सञ्जय ढकालकैै योजनामा रजत तोडी र राजेश सिलवाल नाम गरेका व्यक्ति मार्फत रकम झीकिएको खुल्यो । प्रहरी सञ्जय ढकाल र रजत तोडीलाई पक्राउ गर्न अघि बढ्यो ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जेनिश इन्टरनेश्नल कलेज लगायत विभिन्न स्थानमा प्रहरीले पत्राचार गर्यो । सञ्जय ढकालबारेको एउटा रोचक कथा तत्कालिन अनुसन्धान अधिकृत डिएसपी बसन्त रजौरेले एक साप्ताहिकमा लेखेका थिए ।


ठगीमा संलग्नहरूले वाणिज्य बैंकको भोटाहिटी शाखामा ढकालको नाममा र टेकु शाखामा रजत तोदीका नाममा खाता खोलेका थिए । ढकाल र तोदीको नागरिकता दुरुपयोग गरी बद्मासी भएको अनुसन्धानको क्रममा खुलेको थियो । कतिसम्म भने ठगहरूले होटलमा भेटिएको राम बम्जन भन्ने व्यक्तिको नागरिकताको फोटोकपीसमेत प्रयोग गरेर बैंक खाता खोलेको भेटिएको थियो । ढकाल बैंककमा बस्दै आएका थिए । यसबीचमा तत्कालिन डिएसपी रजौरे २ पटकसम्म बैंकक पुगे । उनले नेपाली दाजुभाइमार्फत् ढकालका बारेमा बुझे ।

ढकालले हराएको ट्राभल्स डकुमेन्ट प्रयोग गरेको खुल्यो । आफ्नो पासपोर्ट हरायो भनेर दूतावासमा खबर गरिसकेका रहेछन् । दूतावासले त्यो जानकारी नेपालस्थित परराष्ट्र मन्त्रालयलाई गराएपछि त्यसको जानकारी इन्टरपोललाई पनि गराइएका थियो । हरायो भनिए पनि उनले त्यही पासपोर्ट प्रयोग गरिरहेका रहेछन् । त्यहाँको इमिग्रेसन कानुन सेक्सन १२ अनुसार त्यस्तो कागजात प्रयोग गर्ने व्यक्तिलाई डिपोट गर्ने व्यवस्था रहेछ । उनलाई पनि डिपोट गर्दैछ भन्ने प्रहरीले चाल पायो । जुन दिन उनलाई थाइल्यान्डबाट डिपोट गरियो । उनी काठमाडांै विमानस्थलमा ओर्लनासाथ त्यहीँबाट पक्राउ परे । लुटपाटको करिब एक वर्षपघि २०७१ माघ २ गते प्रहरीले सञ्जय ढकाललाई पक्राउ गरेको थियो । ढकाल त पक्राउ परे तर उनलाई आफूले के अपराध गरेँ भन्ने समेत थाहा थिएन ।

अनुसन्धानको क्रममा सञ्जय ढकाल निर्दोष देखिए । तोदी पक्राउ परे तर उनी पनि निर्दोष देखियो । ल्याएर अनुसन्धान गर्दा उनी पनि निर्दोष देखिए । अनुसन्धान बैंककै कर्मचारी तर्फ सोझियो । प्रहरीले सिसिटिभी फूटेज हेर्यो । तर मोनिटरमा देखिने मान्छे चिन्न धौधौ थियो ।


शंका सोझीयो धादिङका तत्कालिन शाखा प्रबन्धक राजेन्द्र प्रसाद पाण्डे तर्फ । उनी घटना भएको एक महिनापछि नै छात्रवृत्तिमा पढ्नका लागि क्यानडा जान्छु भनेर बैंक छाडेर हिँडेका थिए । उनीसँगै अनुहार मिल्ने दुई जना भाई हरु प्रविण पाण्डे पक्राउ परे । मेगा बैंककै कान्तिपथ शाखाका तत्कालिन म्यानेजर शम्भु बाहादुर थापा पक्राउ परिसकेका थिए । प्रहरीले प्रवीणको डेराबाट १० लाख १५ हजार रुपैयाँ धमिराले खाएको अवस्थामा फेला पार्यो । बाँकी पैसा धादिङको सलाङ स्थित पाण्डेको घरमा लुकाइएको तथ्य खुल्यो । उनीहरुले ५७ लाखको घडेरी किन्न एक लाख रुपैयाँ बैना दिएका थिए ।


क्यानडा जान्छु भनेर विदा लिएका मेगा बैंक धादिङका शाखा प्रमुख पाण्डे भने जापान पुगेका थिए । जापानमा रहेका पाण्डेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई खबर गर्ने तयारी गरेको थियो । तर, उनी आफै हाजिर भए ।


अनुसन्धानमा खुल्यो– उनीहरुले मेगा बैंकको कान्तिपथ शाखाबाट अनाधिकृत रूपमा टुरिजम डेभलपमेन्ट बैंकका १० वटा चेकबुक जारी गरेका थिए । आफूलाई टुरिजम बैंकको कर्मचारी भनेर प्रवीण पाण्डेले चेक लगेका थिए । त्यसको एक महिनापछि पाण्डेले आफूलाई रजत तोदी बताएर तोदीको नामबाट वाणिज्य बैंकको टेकु शाखामा खाता खोलेका थिए । त्यसको भोलिपल्ट सञ्जय ढकालको नामबाट वाणिज्य बैंककै भोटाहिटी शाखाबाट अर्को खाता खोलेका थिए ।

उनी मेगा बैंकको ग्राहक पनि भएको हुनाले सोही बैंकबाट ढकालको कागजपत्र लिइएको थियो । दुईटा खाता खोलिसकेपछि पैसा जम्मा गर्न थालेका थिए । १२ माघमा ढकालको नामबाट प्रवीणले मेगा बैंकको न्यूरोड शाखाबाट टुरिजम बैंकका तत्कालीन सीईओको किर्ते दस्तखत गरी ९ लाख ९० हजार भुक्तानी लिएका थिए । भोलपल्ट ढकालकै भोटाहिटी शाखाको खातामा चेक क्लियरिङका माध्यमबाट २ करोड जम्मा गरेका थिए । पैसा जम्मा भएपछि ढकालको नामबाट विभिन्न व्यक्तिका नाममा चेक काटिएका थिए । र, उनीहरूले १ करोड ४१ लाख ९० हजार रुपियाँ निकाल्न सफल भएका थिए ।


०००


यसरी भएको मेगा बैंक भित्रको लुटपाट घटनामा हालका प्रमुख कार्यकारी अधिकृत सिइओ अनुपमा खुंजेलीले प्रहरीलाई मेगा बैंकको तर्फबाट जाहेरी दिएकी थिइन् । तर, जाहेरकर्ता रहेकी खुँजेलीकै मातहतमा यस्तो लुटपाटको घटना भएको सर्वोच्च अदालतले फैसला गरेको पाइएको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र सम्शेर राणा र कुमार रेग्मीको फैसलाले खुँजेली तर्फ विभिन्न आशंका उत्पन्न गराइदिएको छ । मेघा बैंकको तत्कालिन प्रमुख सञ्चालन अधिकृत रहेकी खुँजेलीकै मातहतमा भएको र चेकमा कैफियत देखिएको विषयमा उनै खुँजेलीले प्रमाणीत गरेको समेत खुलेको छ । शक्तिको भरमा खुँजेलीलाई मुद्दा नचलाई उन्मुक्ति दिएको समेत खुलेको छ ।

सर्वोच्च अदालतले गरेको फैसलाको १ सय १२ नम्बर बुँदामा भनिएको छ,–‘मिति २०७०/१०/१३ मा दोस्रो पटक रु. २ करोड क्लियरिङ मार्फत भुक्तानी भएको सन्दर्भमा जाहेरवाली अनुपमा खुँजेलीले आफू मेघा बैंकमा प्रमुख सञ्चालन अधिकृत पदमा कार्यरत रहेको र टुरिजम डेभलोपमेन्ट बैंक लिको खातामा रहेको मौज्दात नर्मल चेक प्रेजेन्टेशन पछि चेकमा हुनुपर्ने सबै विवरण पुरा भएकोले न्युरोड शाखाबाट ९ लाख ९० हजार र कान्तिपथ शाखाबाट २ करोड भुक्तानी गरिएको थियो । चेकमा केही कैफियत नेदेखिएको हुनाले भुक्तानी भएको र बैंकको नियम पालना गरिएको भनी भुक्तानीको जिम्मेवारी मेगा बैंकका सञ्चालन अधिकृत अनुपमा खुँजेलीले लिएको देखिन्छ ।’


खुँजेलीले आरोप लगाएको अर्का अभियुक्त शम्भु बहादुर थापालाई भने सर्वोच्च अदालतले सफाई दिएको छ । उनी मातहत नै त्यति ठूलो रकम ठगी भएको देखिँदा देखिँदै पनि सञ्चालक समितिले उनलाई केही वर्षअघि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गरेको थियो । सर्वोच्च अदालतले घुमाउरो ढंगले हालका सिइओ खुँजेली नै समलग्न भएको फैसलामा उल्लेख गरेको छ ।

‘यो आदेशको अर्थ यो पनि हो की यो ठगीमा उहाँ पनि समलग्न हुनुहुन्छ । उहाँलाई उन्मुक्ति दिइयो,’ ठगी प्रकरण सँग जोडिएका एक कर्मचारी भन्छन्,‘तर शक्तिको अगाडीको कसको के लाग्दो रहेछ र । उहाँमाथि मुद्दा चल्नु पर्ने भएपछि उहाँ नै जाहेरवाला बनेर अन्य विरुद्ध मुद्दा हाल्न अघि बढ्नु भयो ।’

मेगा बैंक ठगी प्रकरणमा धादिङको तत्कालिन सलाङ गाविस वडा नम्बर २ निबुवाटारका राजेन्द्र पाण्डेका तीन दाजु भाई अहिले जिल्ला कारागार धादिङमा सजाय भोगी रहेका छन् ।