‘कालो धन’को आडमा राजेन्द्र बजगाइँको ‘दादागिरी’ : टुकुचा खोला ‘कब्जा’ गरेर तारे होटल निर्माण !

diyopost.com
दियो पोस्ट  बिहिबार, माघ २२, २०७७ | १७:५४:२५

काठमाडौं, २१ माघ । बालुवाटार भिआइपीहरुको क्षेत्र हो । प्रधानमन्त्री निवास, प्रधानन्यायधीश निवास र सभामुख निवास बालुवाटारमै छ । हाल सभामुख बस्दै आएको राष्ट्रिय सभा अध्यक्षको निवास गेटै अगाडीको सरकारी जग्गा माफियाहरुले नै भागबण्डा गरेर बेचविखन गरे ।

जसलाई ललिता निवास प्रकरणको रुपमा चर्चा गरिन्छ । त्यही ललिता निवासको अघिल्तिर करिब १०० मिटर तलतिर एउटा भव्य महल ठडिदै छ ।


पेट्रोल पम्पको ठिक अगाडी उभिइरहेको भवनमा एउटा होडिङ बोर्ड पनि टाँगिएको छ – जहाँ अंग्रेजिमा लेखिएको छ ‘VARNABAS MUSIUM  HOTEL KATHMANDU, CONCEPT AND CREATED BY RAJENDRA BAJGAIN.’ अर्थात राजेन्द्र बजगाइँद्वारा सञ्चालन गरिएको वर्णवास होटल । यो भवनले नजिकैको टुकुचा खोलाको धार नै परिवर्तन गरेर भवन निर्माण गरेको पाइएको छ । टुकुचा खोला नै मिचेर भवन बनाएपनि स्थानिय निकाय भने मौन छ ।

आफूलाई पर्यटन व्यावसायी र नेपाली कांग्रेसको नेताको रुपमा चिनाउँदै आएका क्यासिनो व्यावसायी राजेन्द्र बजगाइँले टुकुचा खोला नै कब्जा गरेर आफ्नो आलिशान होटल बनाइरहेका छन् ।


संघीय मामिला तथा स्थानिय विकास मान्त्रालयले जारी गरेको वस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ (पहिलो) संशोधनको बुँदा नम्बर १४ (क ७) (च)मा परम्परागत पानीको मुहान, निकास, प्राकृतिक ताल, धाप, नदी, पोखरी, धारा, कुवा, कुण्ड, ढुंगेधारा इनार आदि मास्ने वा प्रतिकुल असरपर्ने गरी कुनैपनि संरचना निर्माण गर्न दिइने छैनौँ’ भन्ने उल्लेख छ ।

 


उक्त मापदण्ड अनुसार पोखरी जलासयको डिलबाट ५ मिटर, कुवा ढुङ्गेधारा, सिमाबाट ४ मिटर, इनारबाट बाहिरी घेराबाट ४ मिटर र कुलोको केन्द्र रेखाबाट ४ मिटर दूरी छोडेर मात्रै भवन निर्माण गर्नुपर्ने हुन्छ । तर, बजगाइँले भने ४ मिटर छाड्नु त कहाँ हो कहाँ उल्टै टुकुचा खोलाको धार नै मिचेर भवन निर्माण गरेका छन् ।

 

SONY DSC


काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहन विष्टलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा बजगाइँको होटलले नक्सा पास गरेरै भवन निर्माण गरेको बताए । तर, टुकुचा खोला मिचेको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए । ‘मैले बल्ल जानकारी पाएँ । अब म अनुगमन गर्न पठाउँछु । ४ मिटरको दूरी छाड्नै पर्छ । यदि छाडिएको छैन भने हामी कारबाही गर्छौं,’ उनले भने,‘मापदण्ड अनुसार नभएको पाइएमा सजायको भागिदार हुनैपर्छ ।’

 


नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका बजगाइँ पर्यटन व्यावसायी समेत हुन् । उनीमाथि ‘कालोधन ओसारपोसार’को गम्भिर आरोप समेत छ । निर्माणाधिन होटलमा समेत शंकाष्पद लगानी रहेको स्रोत बताउँछ ।

नेपाली कांग्रेसका तर्फबाट गोरखाको प्रदेश १ खबाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका उनले उक्त होटलमा ट्याक्स हेवनको विवादास्पद लगानी भित्र्याएका छन् ।


उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको स्रोतले बताएको छ । बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा लगानी आएको सोही रकम उनले खोला कब्जा गरेर बनाइएको विवादास्पद होटलमा लगानी गरेका छन् ।

ब्रिटिश भर्जिन आयरल्याण्ड कालोधनको कारोबार हुने मुलुक हो ।


खोलाको धार नै परिवर्तन गरेर होटल निर्माण गर्ने बजगाइँलाई सम्पर्क गर्दा उनले आफूहरुले त्यसो नगरेको बताए ।

 

‘हामीले त्यस्तो गरेका छैनौँ । नक्सा अनुसार नै निर्माण गरेका हौँ । कसले भन्यो तपाईंलाई ?,’ प्रश्न गर्दै बजगाइँले भने,‘गएर नापेर हेरे थाहा हुन्छ । हामीले त्यस्तो गरेका छैनौँ । खोला जहाँबाट बग्नुपर्ने हो बगिरहेको छ ।’

सम्बन्धित खबर