प्रभु बैंकले ‘किर्ते स्टुडेन्ट लोन’ कागजात बनाएको खुलाशा : सिइओ शेरचनको शंकाष्पद भूमिका !

diyopost.com
दियो पोस्ट  सोमबार, माघ २४, २०७८ | २३:२८:२२

काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेश अध्ययनमा जाने विद्यार्थीका लागि नक्कली बैंक स्टेटमेन्ट दिने गरेको खुलाशा भएको छ ।

हालै मात्र प्रभु बैंकको ‘स्टुडेन्ट लोन’ पेपर लिएर अध्ययनका लागि यूके पुगेका ४० जना भन्दाबढी विद्यार्थीहरु यूकेको म्यान्चेस्टर एयरपोर्टको अध्यागमनबाट फिर्ता भएपछि प्रभु बैंकले नक्कली रिपोर्ट दिएको खुलाशा भएको हो । ‘स्टुडेन्ट लोन’ लिएर गएका विद्यार्थीहरुको खातामा रकम नभएको फेला परेपछि उनीहरु स्वदेश फर्केका हुन् ।

 

म्यान्चेस्टर एयरपोर्टको अध्यागमन विभागले विद्यार्थीहरुको कागजात परीक्षण गर्दा सम्बन्धित विद्यार्थीको खातामा पैसा नभएको तर प्रभु बैंकले पैसा भएको नक्कली स्टेन्टमेन्ट दिएको भेटिएको थियो । सोही कारण झण्डै चार दर्जन विद्यार्थी नेपाल फर्किन बाध्य भएका हुन् । जुन विषयमा राष्ट्र बैंकले समेत सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

गत जनवरीको तेस्रो साता बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ब्यांकसायरमा पुगेका विद्यार्थी समेत नक्कली बैंक स्टेटमेन्टकै कारण फर्किएका छन् । उनीहरुले पनि प्रभु बैंककै स्टुडेन्ट लोन पेपर बनाएका थिए ।

त्यसो त पटक–पटक प्रभुको नक्कली डकुमेन्ट भेटिएपछि यूके, अष्ट्रेलियालगायतका देशका केही यूनिभर्सिटीहरुले प्रभु बैंकलाई नै कालोसूचीमा राखेको एक पीडित विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

 

स्रोतका अनुसार यसरी नक्कली कागजात तयार पार्न प्रभु बैंकका सिइओ अशोक शेरचनकै मिलेमतो छ । उनकै दबाबमा बैंकले नक्कली डकुमेन्ट बनाएको खुलिसक्दा पनि उनीमाथि कुनै कारबाही हुन सकेको छैन ।

प्रभु बैंकबाट सिइओ शेरचनकै निर्देशनमा तयार भएको केही नक्कली बैंक स्टेटमेन्ट समेद दियोपोस्टले फेला पारेको छ । त्यस्ता नक्कली कागजातहरु प्रभु बैंकको कान्तिपथ शाखा र कमलादी शाखाबाट बन्ने गरेको समेत स्रोतले जनाएको छ । यस विषयमा प्रतिक्रिया लिन शेरचनको मोबाइलमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पाख्रेललाई सम्पर्क गर्दा आफू मिटिङमा रहेको र प्रतिक्रिया दिन नसक्ने बताए ।

 

सम्बन्धित खबर