प्रभु बैंकको दादागिरी : धोवीखोलामा अवैध ढल निकास गरेर दुर्गन्ध फैलाएपछि आयोजनाको पत्र !

diyopost.com
दियो पोस्ट  शुक्रबार, माघ २८, २०७८ | १७:३०:२०

काठमाडौं । राजधानीको विजुलीबजारस्थित मुख्य कार्यालय रहेको प्रभु बैंक लिमिटेडले धोविखोलामा सिधै ढल निकास गरेको पाइएको छ । धोविखोलामा बैंकले सिधै ढल निकास गरिएको पाइएपछि धोविखोला करिडोर सुधार आयोजनाले यहित पुस २९ गते प्रभु बैंकलाई पत्रचार समेत गरेको छ ।

दियोपोस्टले फेला पारेको उक्त पत्राअनुसार आयोजनाले फिल्ड अनुगमन गर्दा प्रभु बैंकले सिधै धोविखोलामा आफ्नो ढल निकास गरेको पाइएको हो । गत पुस २९ गते बैंकलाई १० दिने अल्टिमेटम दिएर पत्राचार गरिएको थियो । आयोजनाले बैंकलाई गरेको पत्रमा १० दिन भित्र ढल निकास बन्द नगरे काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

धोविखोलामा ढल निकास गरेको विषयमा बैंकका डेपुटि सिइओ मनिराम पोख्रेललाई सम्पर्क गर्दा उनले आफू जुम मिटिङमा भएका कारण प्रतिक्रिया दिन नसक्ने बताए ।

‘बैंकले पटक पटक पत्राचार गर्दा पनि अटेरी गरेर धोविखोला फोहोर गरिरहेको छ,’ आयोजनाका एक अधिकृतले दियोपोस्टसँग भने,‘हामीले पत्राचार त गरेका छौँ । तर, कारबाही गर्न सकेका छैनौँ ।’

आयोजना स्रोतका अनुसार बैंकका प्रमख कार्यकारी अधिकृत सिइओ अशोक शेरचनको राष्ट्रपतिसम्म पहुँच भएका कारण काठमाडौं विकास प्राधिकरणले समेत कुनै पनि कारबाही गर्न सकेको छैन ।

सिइओ शेरचनले बैंक भित्र विभिन्न वित्तिय अपराध हुँदा समेत शक्तिकेन्द्रलाई रिझाएर उन्मुक्ति पाउँदै आएका छन् ।

उनी राष्ट्रपति विद्यादेवि भण्डारी निकट व्यक्ति मानिन्छन् । यसअघि राष्ट्रपति भण्डारी चीन भ्रमण गएको बेला शेरचन समेत भ्रमण टोलीमा परेका थिए ।

‘सरकारका माथिसम्म उहाँको प्रभाव देखिन्छ । उहाँकै प्रभावका कारण धोविखोलामा अबैध ढल निकास हुँदा पनि कुनै निकायले कारबाही गर्न सकेको छैन,’ स्रोतले भन्यो,‘तर, अहिले आयोजनामा नयाँ नेतृत्व आएपछि पत्र काट्ने सम्म काम भएको छ । तर, पुस २९ गते काटिएको पत्रको जवाफ पनि आएको छैन ।

१० दिने अल्टिमेटम पनि अलपत्र परेको छ ।’ यस विषयमा प्रतिक्रिया लिन आयोजनाका प्रमुख दिनेश कृष्ण पोतेलाई सम्पर्क गर्दा उनले कार्यालयको फोन उठाएनन् ।

धोविखोला अतिक्रमण गरेको भन्दै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले केहीदिन अघि सडकका अवैध संरचना तथा बस्तु हटाउँदै हिँडेकी थिइन् ।

तर, प्रभु बैंकले खोलामै अवैध ढल मिसाउँदा भने मन्त्री झाँक्रीले कुनै कारबाही गर्न सकेकी छैनन् ।

‘सानालाई ऐन ठूलालाई चैन भने जस्तै भएको छ,’ एक सर्वसाधरण भन्छन्,‘हाम्रो टहरामा डोजर लगाउनेले ठूला महलले दैनिक खोला नै धमिलिनेगरि दुर्घन्ध फैल्याउँदा किन कारबाही भएन ?’

 

सम्बन्धित खबर