१५ करोड लगानीको ग्लोबल मार्ट डुब्यो, ऋण तिर्न नसकेपछि ७ दिने लिलामी सुचना !

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण १३, २०७८ | १५:३८:५३

काठमाडौं । बैंकबाट लिएको कर्जा नतिरेको भन्दै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित रहेको ग्लोबल मार्ट लिलामीमा परेको छ । नेपाल बंगलादेश बैकबाट लिएको ऋण नतिरेको भन्दै सम्पत्ति लिलामीका लागि बैंकले दैनिक पत्रिकामा सुचना प्रकाशन गरेको छ ।

कोरियाबाट नेपाल फर्किएका हरि प्रसाद सिटौलाले केही वर्षअघि मात्रै सिटौला कम्प्लेक्स निर्माण गरि सोही कम्प्लेक्समा ग्लोबल मार्ट, रेष्टुरेन्ट, सिटौला ट्रेड प्रा.ली, गौरव एण्ड सौरभ ट्रेड प्रा.ली र सनसिटी ट्रेड प्रा.ली सञ्चालन गर्दै आएका थिए ।

पेप्सी टाउप्लानिङको सनसिटी नजिकै खुलेको उक्त ग्लोबल मार्ट २०७४ साल भदौ २४ गते उद्घाटन भएको थियो । तत्कालिन वाणिज्य मन्त्री मिन विश्वकर्माले उद्घाटन गरेको उक्त मार्टमा ग्लोबल रेष्टुरेन्ट र ग्लोबल चिल्ड्रेन गेम समेत सञ्चालनमा थियो । उद्घाटन कार्यक्रममा कलाकार मनोज गजुरेल, कोमल वली, अभिनेता निखिल उप्रेति लगायत कलाकारहरु पुगेका थिए । त्यस्तै उद्योग वाणिज्य महासंघका तत्कालिन उपाध्यक्ष चन्द्र ढकाल, सांसद दिपक कुँइकेल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी लगायत व्यक्तिहरु समेत पुगेका थिए ।

मार्टका सञ्चालक हरि प्रसाद सिटौला ९ वर्षसम्म कोरियामा रोजगारी गरेर नेपाल फर्किएका थिए । नेपाल बंगलादेश बैंकले एक दैनिक पत्रिकामा सुचना प्रकाशन गर्दैै ७ दिन भित्र धितोमा रहेको सम्पत्ति लिलामी गर्ने अल्टिमेटम दिएको छ । कम्पनिको सञ्चला सिटौला र उनकी पत्नि मुना उप्रेती सिटौलाको तस्विर समेत बैंकले प्रकाशन गरेको छ । करिब १५ करोड रुपैयाँ लगानीमा खुलेको उक्त मार्ट कोरोना महामारीका कारण समस्यामा परेको निकटस्थहरु बताउँछन् ।

उनीहरुले बैंकबा क्यास क्रेडिट, ओघरड्राफ्ट र होम लोन लगायत किसिमका कर्जा लिएका थिए । पटकपटक मौखिक ताकेता गर्दा पनि ऋण नतिरेपछि गत साउन १५ गते एक दैनिक पत्रिकामा कर्जा चुक्ता गर्न ३५ दिने अल्टिमेटमसहित सुचना निकालिएको थियो ।

त्यसपछि पनि सिटौलाले कर्जा चुक्ता नगरेपछि गत माघ ४ गते धितोमा रहेको सम्पत्ति लिलामी गर्नेबारे २१ दिने सुचना बैंकले निकालेको थियो । तर, त्यसपश्चात पनि कर्जा चुक्ता नभएका कारण गत फागुन १२ गते ७ दिने सुचना निकालिएको हो ।

बैंकले धितोमा रहेको कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित कित्ता नम्बर ३८३ को २१५ वर्ग मिटर, कित्ता नम्बर ३५२ को १ सय ९ वर्ग मिटर र र ३५४ को क्षेत्रफल १ सय ३८ वर्ग मिटरको जग्गा तथा घर लिलामीमा रोखेको छ ।

सम्बन्धित खबर