सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय बाह्रबिसेले १ किलो सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बेलुका करिब ५ बजे तातोपानीबाट बाह्रबिसे तर्फ मोटरसाइकलमा सुन सुन जस्तो धातु ल्याउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बाह्रबिसेले मोटरसाइकल सहित एक जनालाई नियन्त्रणमा लिएको हो।
भोटेकोसी गाउँपालिका वडा नम्बर ५ का थर्चेन तेम्बा तामाङले सोमबार बेलुका भे ११ प ५५८८ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको अबस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रहरीका अनुसार तामाङले आफ्नो कम्मरमा बेरेर ल्याउदै गरेको अबस्थामा बाह्रबिसेको खोर्सानीबारि चेक पोस्टबाट चेक जाच गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
यद्यपी प्रहरीले भने सुन जस्तो धातुमा बाहिरी भागमा सुनको जलप र भित्र भाग तामाको रहेको परिक्षण प्रतिबेदनबाट खुल्न आएको खड्काले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
उपरीक्षक खड्काले भने, ‘निज तामाङले ल्याएको सुन जस्तो देखिने धातुबाट अन्य ब्यक्तिलाई ठग्ने, झुक्याएर पैसा असुल्ने जस्ता गतिविधि गर्ने उदेश्यले ल्याएको हुन सक्छ । निज तामाङ बस्ने कोठाबाट पासपोर्ट ४ थान अन्य ब्यक्तिको, अध्यगमन पास दुई थान, चेक बुक ६ थान, मोबाइल एक थान र डायरी फेला परेको छ ।’ अहिले बजारमा सुन जस्तो देखाएर ठग्ने कार्य भइरहेकोले सबैलाई सजग रहन समेत खड्काले अग्रह गरे।
पछिल्लो समय तातोपानी नाकाबाट प्रहरीले यसरी सुन बरामद गरेको यो पहिलो घटना हो।