दियोपोस्ट संवाददाता
युएई । दुबई बसेर मानव तस्करी धन्दा गर्दै आएका झापा धुलाबारीका प्रजिल पराजुली विरुद्ध नेपालबाट पक्राउ पुर्जी जारी भएको छ । तर, उनी प्रहरी अनुसन्धानको पहुँचबाट भने बाहिर छन् ।
दुवईमा उनले ग्रिन हिमालय क्लिनिङ सर्भिस नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । त्यही कम्पनीको आढमा प्रजिलले दुवईमै रोजगरीमा रहेका नेपालीहरुलाई विभिन्न मुलुक पठाइदिने भन्दै ठगी गरेका छन् । एक युवालाई दुबई हुँदै अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा उनी विरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेको छ ।
नेपालबाट मानव तस्करी गर्ने मानव तस्करको सुचिकृत पराजुली विरुद्ध आजभन्दा ५ वर्षअघि नै पक्राउ पुर्जी जारी भएपनि उनी पक्राउ भने परेका छैनन् । अमेरिका पठाइदिन्छु भन्दै अमिर अहमद खाँबाट उनले ३० लाख ४५ हजार रुपैयाँ अशुली गरेको अभियोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । तर, प्रहरीले उनलाई दुबईबाट पक्राउ गरेर ल्याउन हालसम्म सकेको छैन ।
पराजुलीले खाँबाट अमेरिकाको टेक्सस राज्य स्थित काठमान्डु रेष्टुरेन्टमा काम लगाइदिने र मासिक २ हजार अमेरिकी डलर तलब दिने सहमति गरेका थिए । २०७२ माघमा पराजुलीले खाँबाट रकम अशुलेका थिए । ‘म पराजुलीबाट निकै पीडित भएँ । तर, हालसम्म न पैसा पाएको छु । नत न्याय पाएको छु,’ खाँले भने ।
पराजुलीले यसअघि ७० जना नेपालीबाट ३ करोड २१ लाख रुपैयाँ ठगी गरेको तथ्य सार्वजनिक भएको थियो । पराजुलीले दुबईमा रहेका नेपालीलाई युरोप र अमेरिका पठाइदिने भन्दै रकम पठाइरहेका छन् । पीडितहरु प्रहरी तथा नियामक निकायमा उजुरी गर्नुभन्दा एनआरएन लगायत संस्थाहरुमा उजुरी गर्दै आएका छन् ।
उनले दुबईमा नेपालीलाई काम लगाइदिन्छु भन्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म असुली गरिरहेका छन् ।