नमूना बस्तीका नाममा माझीहरुको बिचल्ली बनाएको श्वेता श्री फाउन्डेशन नै ‘अवैध’

खुमा वली

काठमाडौं । स्वेता खड्का नामले चर्चित अभिनेत्री रञ्जना खड्का नेतृत्वमा संचालित श्वेता श्री फाउण्डेशन विगत ७ वर्षदेखि कानुनी रुपमा कुनै नविकरण नभएको खुलेको छ । २०७३ साल चेत्र १५ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा “श्वेता श्री फाउण्डेशन” नामक संस्था दर्ता गरेकी थिइन् ।
सात सदस्यीय समिति बनाएर स्थापना गरिएको उक्त संस्था ०७३ चैत्र १५ मा जिल्ला प्रशासनमा दर्ता भएपछि त्यसको ८ दिनपछि अर्थात् चैत्र २३ गते समाज कल्याण परिषद्ले परिषद्मा आवद्ध गराएको थियो । आवद्ध भएको मितिदेखि नै उक्त संस्थाले कानुन विपरित एक पटक पनि नविकरण नगराएको तथ्य फेला परेको छ ।

के छ त कानुनी व्यवस्था ?

कानुनअनुसार परिषद्को आवद्धतापछि संस्थाले हरेक आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नु पर्ने हुन्छ । समाज कल्याण ऐन २०४९, समाज कल्याण नियमावली २०४९, संघ संस्था आवद्धता सम्बन्धि निर्देशिका २०७१ बमोजिम संस्थाको ६ महिना भित्रमा नियमानुसार संशोधन गरी जिल्ला प्रशासन कार्यालयको स्विकृतीसहित परिषद्मा पेश गर्नु पर्ने हुन्छ । यति मात्रै नभई संस्थाले हरेक आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गरि सोको प्रतिलिपी तथा वार्षिक प्रगति प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, र वार्षिक साधारणसभाको प्रतिलिपी अनिवार्य रुपमा परिषद्मा पेश गर्नु पर्ने हुन्छ । तर श्वेता श्री फाउण्डेशन भने अहिलेसम्म उक्त विषयमा बेखबर जस्तै भएको छ ।

समाज कल्याण परिषद्ले उपलब्ध गराएको सूचनाअनुुसार उक्त संस्थाले ७ वर्ष बित्दा पनि जिल्ला प्रसाशन कार्यालयमा नविकरण गरेको देखिदैन । स्थापनाकालदेखि हालसम्म आफ्नो नामसमेत परिमार्जन नगरेको संस्थाले वार्षिक नविकरणसमेत गरेको छैन ।

सुरुमा संस्था दर्ता गर्दा रञ्जना खड्का नामबाट स्थापना गरिएको छ । जसलाई ६ महिनापछि परिमार्जन गर्नु पर्ने हुन्छ । तर श्वेता श्री फाउण्डेशनले स्थापनाको सात वर्षपछि पनि कुनै परिमार्जन नगरेको परिषद्ले जनाएको छ । उल्टै उक्त फाउण्डेशनले समाज कल्याणका नाममा माझी वस्तीे नै विचल्ली बनाएको छ । सिन्धुपाल्चोकको चौतारा साँगा–चोकगढी नगरपालिका– १४ मा श्वेता श्री फाउन्डेसनले निर्माण गरेको माझी बस्ती अहिले लिलामीको अवस्थामा पुगेको छ ।

नमुना एकीकृत माझी बस्ती निर्माणकै लागि उनले उक्त संस्था स्थापना गरेको देखिन्छ । तर उक्त संस्थाको उद्देश्य एकातिर छ भने काम कारबाही अर्कै तिर छ । कानुन विपरित यसरी नविकरण नै नगर्दा समेत सम्बन्धित सरकारी निकायहरुले मौन छन् ।

लिलामीको जोखिममा माझी बस्ती
सिन्धुपाल्चोकको चौतारा साँगा–चोकगढी नगरपालिका– १४ मा श्वेता श्री फाउन्डेसनले निर्माण गरेको माझी बस्ती लिलामीको जोखिममा पुगेको छ । लक्ष्मी बैंक चौतारा शाखासँग प्रति घर चार लाख रुपैयाँ थप ऋण सम्झौताअनुसारको किस्ता फाउन्डेसनले तिर्न नसक्दा बस्ती लिलामीको जोखिम छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र फाउन्डेशनको रकमले माझी बस्तीमा ५३ घर पुनः निर्माण भएको थियो । लामो समयसम्म साँवा तथा ब्याज नपाएपछि बैंकले सूचना जारी गरेको छ । घर बनाउनकै लागि बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा बास नै गुम्ने चिन्तामा माझी समुदाय छन् । एकीकृत बस्ती निर्माणको अगुवाइ गरेको श्वेता श्री फाउन्डेसनले सुरुमा घर बनाउन सहयोग जुटाइदिने बाचा गरेपछि बैंकबाट ऋण लिएर माझी समुदायले घर निर्माण गरेका थिए । २०७२ सालको भुकम्पले ध्वस्त भएको बस्ती पुनर्निर्माण प्राधिकरणको स्वीकृतिमा श्वेता फाउन्डेसनले डिजाइन गरेको थियो ।

उच्च अदालत पाटनले गत कात्तिक १४ गते उक्त बैंकलाई लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश समेत दिएको थियो ।

यस्ता खाले संस्थाको उद्देश्य मुनाफा रहित तथा जनहितकारी हो । तर यही संस्थाले जनहितकारीका नाममा सिन्धुपाल्चोकका अल्पसंख्यक माझी समुदायको बिचल्ली बनाएको छ ।

सम्बन्धित खबर