पथरी (मोरङ), ८ चैत । आव ०७३/०७४ का लागि जिल्ला विकास समिति मोरङले रु एक अर्ब ४१ करोड ७४ लाखको बजेट प्रस्ताव गरेको छ ।
जिविस मोरङले यो बजेट आउने केन्द्रीय बजेटलाई समेत समेटेर तयार गरेको जनाएको छ । मोरङका स्थानीय विकास अधिकारी नारायाणप्रसाद मैनालीले २५ औँ परिषद्द्वारा पारित बजेट आइतबार विराटनगरमा प्रस्तुत गर्दै विषयगत कार्यालयको समेत बजेट प्रस्तुत गरेका थिए ।
मोरङका स्थानीय विकास अधिकारी मैनालीका अनुसार विषयगत कार्यालयतर्फ चालु र पुँजीगत गरेर रु चार अर्ब ३१ करोड ३२ लाख बजेट छ । त्यस्तै गैर सरकारी संस्थाको रु १८ करोड ३० लाख ५५ हजार छ ।
सो कार्यक्रममा पत्रकार डिपी खतिवडा, इन्दिरा भट्टराईलाई यस वर्षभरि जिविसको उत्कृष्ट समाचार सम्प्रेषण गरेकोमा नगद रु साढे सात हजारसहित पुरस्कृत गरिएको थियो ।
विकासको काम दु्रत गतिमा सुरु
विराटनगर उपमहानगरपालिकाले अघि सारेका विकासका योजना दु्रत गतिमा सुरु भएको छ ।
विराटनगर उपमहानगरपालिकाले अगाडि बढाएका विकासे योजना दु्रत गतिमा कार्यान्वयनमा आउन थालेका हुन् ।
उपमहानगरपालिकामा एकीकृत तथा मझौला सहरी विकास परियोजनाअन्तर्गत पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको सडक कालोपत्रे गर्ने काम दु्रत गतिमा सुरु भएको छ ।
यो परियोजनाअन्तर्गत ढल निकाससहित ६२ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । नगर क्षेत्रको विभिन्न बाटो र ढल निकासका काम द्रुत गतिमा अगाडि बढिरहेका छन् ।