फलेवास (पर्वत), ८ चैत । केही दिनयता बढेको गर्मीका कारण जिल्ला अस्पताल पर्वतमा बिरामीको चाप ह्वात्तै बढेको छ ।
जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदूषित हावाहुरीसँगै खानेपानीसमेत दूषित हुने भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार केही समयअघिको तुलनामा यतिबेला तेब्बरको सङ्ख्यामा बिरामी बढेको बताइएको छ ।
भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै वृद्धवृद्धामा समेत यसको सङ्क्रमण देखिएको छ । दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा सरोज दाहालले बताए ।
यसबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणबस सङ्क्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डा राजभण्डारीले उल्लेख गर्नु भयो ।
१५ श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । यो समस्या अझै केही सातासम्म रहने अस्पतालले जनाएको छ । यस वर्ष हिउँदमा वर्षा नभएकाले पनि बिरामीको सङ्ख्या बढेको चिकित्सकको भनाइ छ ।
जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । क्लिनिकमा आउने बिरामीमध्ये दैनिक ४० देखि ६० जनासम्म बिरामीमा भाइरलको सङ्क्रमण भेटिएको सञ्चालकको भनाइ छ ।
विशेष गरी सदरमुकामलगायत बढी जनघनत्व भएका बजार क्षेत्रमा प्रकोप बढेको छ । बालबालिकालाई जुनसुकै प्रदूषणबाट पनि टाढा राख्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।