सेपगाउँको पीडा : एसएलसी पास गर्ने पनि कोही भएनन्

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र ०८, २०७२ | ८:३५:४०

 

सिन्धुपाल्चोक, सेलाङ । सदरमुकाम चौताराबाट करिब ५ घण्टाको पैदल हिंडेपछि हिमाल पारिको सेलाङ गाविसको बाँसखर्क पुगिन्छ । बाँसखर्क पुगेपछि ओरालो झर्दै गर्दा एउटा अनकन्टार भीर आउँछ । भीरबाट तल हेर्दा एउटा खोला देखिन्छ । खोलाको वारि–पारि भीरै–भीर छ । खोला पार गरेपछि नाकै ठोक्किने करिब ३० मिनेट उकालो हिंडेपछि सेपगाउँ पुगिन्छ । भूकम्पले थिलथिलो पारेको पहरा छिचोल्दै सेपगाउँ पुग्दा ठूलो ढुङ्गा खानी भेटिन्छ । जहाँको ढुङ्गा जिल्लाको धेरै घरको छानोमा देखिन्छ । अर्थात जिल्लाकै ढुङ्गा खानी प्रख्यात छ । बैशाख १२ गतेको विनाशकारी भूकम्पले थिलथिलो भएको सेलाङको सेपगाउँमा एउटा घर पनि ठाडो छैन् ।


वैशाख १२ गतेको विनाशकारी भूकम्पअघि करिब ३५ घरपरिबारको बसोबास थियो सेपगाउँमा, अहिले मुश्किलले ८÷१० घरपरिवारको मात्रै बसाई छ । अचम्मको कुरा के भने सेपगाउँका कसैलै पनि एसएलसि पास गरेका छैनन् । अझसम्म पनि सेपगाउँमा बस्तिमा एसएलसि पास गर्ने एक जना पनि छैनन् । जिल्लाको उत्तरी भेगमा पर्ने सेलाङ गाविस–८ स्थित सेपगाउँको यथार्थ हो यो ।


छ/सात कक्षा भन्दा बढि पढ्ने एक जना पनि उक्त बस्तिमा नरहेका स्थानीय सेपगाउँ प्राविका प्रधानाध्यापक सहदेव कार्कीले बताए । कार्कीका अनुसार तामाङ समुदायको बसोबास रहेको बस्तिमा कसैले पनि छ÷सात कक्षा पास भएपछि अगाडीको पढाई सुचारु नगराएका हुन् । हिमाल पारिको सेपगाउँको नामले परिचित उक्त बस्तिमा तामाङ समुदायका बाहुल्यता रहेको छ । यहाँका मानिसहरु प्राय बिदेश जाने गरेको गाविस सचिब राम्जि थापाले बताए ।
प्रधानाध्यापक कार्कीका अनुसार सेपगाउँमा बालबच्चा र बुढापाकाहरु मात्रै भेटिन्छन् । युवाहरु सबै विदेश गएका छन् । सेपगाउँका युवायुवतीहरु प्राय खाडी मुलुक गएका छन् । बच्चाहरु पनि गाउँमा भेटिदैनन्, ढुंगा खानिमा भेटिन्छन् । त्यँहा गाउँ नजिकै दुई वटा ढुंगा खानि रहेको छ । अहिले पनि सेपगाउँका धेरै मानिसहरु बाँसखर्कमै बसेको सचिव थापाले बताए । सेपगाउँमा पहिरो गएकाले बाँसखर्कमा बसेका हुन् ।

 


‘यँहाका बालबालिकाहरु स्कूल आउनै मान्दैनन्, बरु ढुंगा बोक्न हासि–खुशी जान्छन्’ अर्का शिक्षकले भने । प्रधानाध्यापक कार्कीले भने ‘अविभाकलाई बच्चा पढाउन पठाउनु प¥यो भन्दा ढुंगा बोक्न जानु छ भन्दै विद्यालय पठाउँदैनन् ।’ ढुंगा बोक्न गए पैसा आउने, विद्यालय आए कापि–कलम किन्न खर्च हुन्छ भन्दै विद्यालय नपठाउने गरेको प्रधानाध्यापक कार्कीको गुनासो छ । कार्की भन्छन् ‘कतिपय समयमा त हामी ढुंगा खानिमै गएर पनि बच्चाहरु ल्याएर पढाएका छौं ।’ सेपगाउँमा छ÷सात कक्षा उर्तीण गरेपछि उमेर बढाएर नागरिकता बनाउँदै विदेश जाने गरेका छन् । आफु बस्ने थाकथलो नै भूकम्पले ध्वस्त पारेपछि घर बनाउनका लागि पैसा कमाउन सकिन्छ भन्ने आशाले उमेर बढाएर बैदेशिक रोजगारी जाने गरेको स्थानीयहरु बताउँछन् ।

सम्बन्धित खबर