निगम-उद्योगी समझदारी, खाना पकाउने ग्यास विक्री सुचारु

दियोपोस्ट संवाददाता

काठमाडौं, फागुन २२ । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सुचारु हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच मंगलबार भएको समझदारीअनुसार ग्यास व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका छन् ।

व्यवासयीहरुले निगमबाट एलपी ग्यासका पिडिओ खरिद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने सहमति गरेका हुन् ।

सङ्घको मागबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो । उद्योगी–व्यवसायीका मागबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र बुझाउने सम्झौतामा उल्लेख छ ।

त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
अन्नपूर्णपोष्ट दैनिकबाट

सम्बन्धित खबर

सिफारिस