काठमाडौँ, १२ चैत । सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने इच्छा देखाएको छ ।
कावा प्रधानमन्त्री विजयकुमार गच्छदारसँग आज बैंकका उपाध्यक्ष वाङ काई झाङले कार्यकक्षमै भेटी पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा देखाएका हुन् । सन् २०२२ सम्म नेपाललाई अल्पविकसितबाट विकासशील देशमा पुयाउनका लागि बैंकले सहयोग गर्ने इच्छा प्रकट गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री गच्छदारका निजी सचिव तिलक पौडेलले राससलाई जानकारी दिए । सन् २०३० को दिगो विकास लक्ष्य पूरा गर्ने उद्देश्यले बैंकले पूर्वाधार विकासमा सहयोग गर्ने साेंच बनाएको उपाध्यक्ष झाङले उपप्रधानमन्त्री गच्छदारलाई बताए।
सो अवसरमा विभागका आयोजना निर्देशक केशवकुमार शर्माले पूर्वाधार विकासका लागि एक अर्ब अमेरिकी डलर सहयोग माग गरेकामा उपाध्यक्ष झाङले यससम्बन्धी लिखित प्रस्ताव बनाई विधिवत् पेस गर्न सुझाव दिएका थिए । यही चैत ११ गते नेपालको भ्रमणमा आउनुभएका उपाध्यक्ष झाङले छानिएका आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।
चक्रपथ आठ लेनको हुने
आगामी पुससम्म चक्रपथको १० किमी भाग चार लेनबाट बढाएर आठ लेनको पुनःनिर्माण हुने भएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कलङ्की–कोटेश्वरसम्मको १०.३९ किमी खण्डको कामका क्रममा चार पक्की पुललाई पनि आठ लेन बनाउने कार्य सुरु भएको छ ।
मनोहरा, वाग्मती र बल्खुमा आठ लेन ६२ मि चौडाइको चार पुल निर्माण सुरु भएको हो । बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक एक आठ लेनको ६२ मि चौडाइको पक्की पुल निर्माण गरिँदैछ । तीन नदीमा चार वटा आठ लेनका पुल निर्माण हुन लागेको सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनियर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले जानकारी दिए ।
तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्ने गृहकार्य विभागले गरे पनि चिनियाँ ठेकेदार कम्पनीले थप समय माग गरेन । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो । विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७.२ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो ।
बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको छ । बाँकी १७ किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी छ । १० वर्षभित्रमा पूरै चक्रपथ आठ लेन, ६२ मि चौडाइ र नौ आकाशे पुलयुक्त हुनेछ । यसका लागि रु १३ अर्ब लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।
चीनको ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन् । आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । “सत्ताइस किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकारले र छ वटा आकाशे पुल सरकारले बनाउनेछ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छ”– उहाँले भने।