आँपमा मधुवा किरा

दियो पोस्ट  

 

लहान, १४ चैत । जिल्लामा आँपको फूलमा मधुवा किराले क्षति पु¥याउन थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

आँप फल्नुभन्दा पहिले नै मधुवा किराले मुजुरालाई सखाप पार्न थालेको छ । किराको प्रकोप बढेपछि आँप बचाउनका लागि उपाय खोज्न किसान सदरमुकामस्थित कृषि विकास कार्यालय धाउन थालेका छन् । किरा मार्न कुन औषधि कसरी छर्किने भन्ने कुरा जानकारी लिन कृषि विकास कार्यालय आएको गोलबजार नगरपालिका–७ का किसान श्यामसुन्दर चौधरी बताउछन्।

मधुवा किरा र हावाहुरीले मुजुरालाई क्षति पुर्‍याउन थालेपछि आँप नफल्ने चिन्ता बढेको छ । “यसपालि पातभन्दा बढी मुजुरा थियो, तर मधुवा किरा लागेर कालो हुन थालेको छ” उनले भने। हावा चल्ने बित्तिकै मुजुरा झर्न थालेको छ । मधुवा किरा हावा र माटोको माध्यमबाट एक बोटबाट अर्काे बोटमा सर्ने गरेको छ ।

जिल्लाका जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीका कञ्चनपुर, रुपनगर, सितापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुर क्षेत्रमा आँपका घना बगैँचा छन् ।

किराले पु¥याएको क्षतिबारे प्राविधिक टोली खटाएर जानकारी लिने काम भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामलखन मण्डल बताउनुहुन्छ । “परामर्शसँगै निःशुल्क औषधिसमेत दिन थालेका छौँ” उनले भने । जिल्लामा चार हजार ९५० हेक्टर जग्गामा आँप खेती हुँदै आएको छ ।