भक्तपुर, १४ चैत । नयाँ वर्षको अवसरमा जिल्लामा औद्योगिक तथा व्यापार मेलाको आयोजना गरिएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आगामी चैत २४ देखि वैशाख ५ गतेसम्म मेला आयोजना गर्ने भएको हो । संस्थाका प्रमुख सन्दीप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागेको बताए।
जिल्लाको सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको नौ हजार ९०० रोपनी जग्गामा आयोजना गरिने मेलामा करिब २०० स्टल रहने छन् । मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् ।
मेलाका संयोजक दीपक थापाका अनाुसार अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल समेत राखिने छन् । बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । अवलोकन गर्न आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने थापाले बताए। करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोड बरारबरको कारोबार हुने अनुमान गरिएको छ ।