काठमाडौँ, फागुन ३० । चिनले कोरोनाभाइरस (कोभिड–१९) अमेरिकी सेनाले चिन भित्र्याएको बताएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले ट्वीटरमार्फत वुहानमा कोरोना भित्रिनुको कारक तत्व अमेरिकी सेना भएको आरोप लगाएका छन् ।
अमेरिकाले कोरोनाभाइरसको विवरण सार्वजनिक नगर्नुमा नै आशंक रहेको उल्लेख गर्दै उनले ट्वीटरमार्फत कोरोनाभाइरसले अमेरिकामा पुर्याएको क्षतिको बारेमा तथ्यांक सार्वजनिक हुनुपर्ने बताएका छन् । ‘पारदर्शी हुनुहोस् १ आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस् ! अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो,’ उनले ट्वीटरमा लेखेका छन् ।
यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।
गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।
शक्ति प्रदर्शनमा चिन र अमेरिकाको लडाईँकै कारण कोरोनाभाइरसको उत्पत्ती भएको हुनसक्ने अनुमान समेत लगाइएको छ । यसअघि कोरोनाभाइरसलाई जैविक हतियारको रुपमा अमेरिकाले प्रयोग गरेको समेत बताइएको थियो तर वैज्ञानिकहरुले त्यसलाई निराधार भनेका थिए ।