काठमाडौँ, चैत २ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् ।
केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
नौ दिन अस्पताल बसाइपछि शुक्रबार प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्रीलाई भेटघाट तथा छलफल बैठकहरु केही दिन कमै गर्न चिकित्सकले सुझाव दिएका छन् ।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको स्टेन्ट निकालेपछि आइतबार नै बालुवाटर फर्किनेछन् । साँझ ५ बजे सार्क राष्ट्रहरुबीच हुने भिडियो कन्फरेन्समा समेत प्रधानमन्त्री सहभागी हुने बताइएको छ ।