मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध आक्रामक प्रहरी, डेढ लाख मास्क बरामद

दियो पोस्ट  

काठमाडौँ, चैत २ । कोरोनाभाइरसको संक्रमण बढ्दै गर्दा विश्व आतंकित बनिरहेको मौका छोपेर कालोबजारी गर्ने बिरुद्ध प्रहरी आक्रामक बनेको छ । कोरोनाको संक्रमणबाट जोगिनका लागि सरकारले अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेपछि कृतिम अभाव सिर्जना गरेर कमाउ धन्दामा लागेका व्यापारीहरुबिरुद्ध प्रहरीले अपरेशन नै चलाएको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौँले शुरु गरेको अपरेशनबाट आइतबारसम्म डेढ लाख सर्जिकल मास्क बरामद गरिसकेको छ । व्यापारीहरुले ३ रुपैयाँमा खरिद गरि कृतिम अभाव सिर्जना गर्दै प्रतिगोटा ४० रुपैयाँसम्म बिक्री गर्ने गरेपछि प्रहरी सकृय भएको हो । आइतबार राजधानीको कपन क्षेत्रमा गरिएको अपरेशनबाट प्रहरीले डेढ लाख सर्जिकल मास्क बरामद गरेको छ ।

मास्क लुकाएर कृतिम अभाव सिर्जना गर्ने व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको छ । प्रहरीले शनिबार गरेको अपरेशनबाट समेत ७८ हजार मास्कसहित व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी(९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

विश्व नै त्रासमा डुबिरहेको समयमा कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेहरुलाई नछाडिने प्रहरीले बताएको छ । प्रहरीले अपरेशनलाई निरन्तरता राख्ने र त्यस्तो कार्यमा संलग्न भेटिए कालोबजारी ऐनअन्तर्गत कारवाही प्रकृया अगाडी बढाइने बताएको छ ।