सार्क भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीको प्रस्टोक्तिः ‘नेपालमा कोरोनाको संक्रमण छैन’

दियो पोस्ट  

काठमाडौँ, चैत्र २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण नभएको जानकारी दिएका छन् । आइतबार सार्क राष्ट्रहरु बिच भएको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारले कोरोना संक्रमण हुन नदिनका लागि पर्याप्त सावधानी अपनाएको जानकारी दिएका छन् ।

उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए ।

यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी गराए ।

स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । उनले यसवर्षको आरोहण रद्द गरिएको पनि बताए ।

सिफारिस