सतुंगलबाट १ सय ७७ वटा बोरामा राखिएको ८ लाख थान मास्क बरामद

दियो पोस्ट  

काठमाडौँ, चैत ३ । कोरोनाभाइरसको त्रासमा कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौँको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्क सहित दुई व्यापारीलाई पक्राउ गरेको हो ।

महानगरिय प्रहरी वृत्त थानकोबाट खटिएको टोलीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा मास्क बरामद गरेको हो । कालोबजारीमा संलंग्न आरडी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका पार्टनर सुवास महेश्वरीलाई पक्राउ गरेको हो । भारत राजस्थान घर भएका गोयल र महेश्वरीले कोरोना भाइरसको त्रास बढिरहेको मौकामा मास्कको कालोबजारी सुरु गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

उनिहरुलाई कालोबजारी अन्तर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ । कालोबजारी गर्नेहरुबाट प्रहरीले मास्क बरामद गरेतापनी त्यो आम जनताले प्रयोग भने गर्न पाउने छैनन् । महानगरिय प्रहरी परिसरका अनुसार कालोबजारीहरुबिरुद्ध मुद्धा चल्ने र मुद्धाको टुंगो नलागेसम्म बरामद भएको मास्क प्रहरीले राख्ने छ ।

कालोबजारीको मुद्धा जिल्ला प्रशासन कार्यलयले हेर्ने हुँदा मुद्धा टुंगिएपछि सरकारले उक्त मास्क किन्ने छ र सर्वसाधारणका लागि बजारमा पठाउन सक्छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँका अनुसार सामान्यतया कालोबजारीको मुद्धा सकिन तीन महिना लाग्ने छ ।

यसअघि शुक्रबार र शनिबार समेत काठमाडौँबाट २ लाख भन्दा बढी मास्क बरामद भएको थियो । प्रहरीले कृतिम अभाव सिर्जना गराएर चर्को मुल्यमा बिक्रिवितरण गर्नेबिरुद्ध अपरेशन चलाएको हो ।

सिफारिस