काठमाडौँ, चैत ३ । उद्योग, वाणिज्य, तथा आपुर्ती मन्त्री लेखराज भट्टले ग्याँसको कृतिम अभाव सिर्जना गर्न खोज्ने व्यापारीहरुलाई सेना प्रहरी लगाउने चेतावनी दिएका छन् । छिमेकी मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि उपत्यकामा एकाएक खाना पकाउने एलपी ग्याँसको अभाव सिर्जना भएपछि मन्त्री भट्टले ग्याँस उद्योगी र आयल निगमका अधिकारीलाई बोलाएर चेतावनी दिएका हुन् ।
मन्त्री भट्टले संकटको समयमा सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताएका छन् । कालोबजारी गर्न खोजे लाइसेन्स रद्ध गर्ने प्रकृया अगाडी बढाउने समेत बताएका छन् । उनले उपभोक्ताको जुनसुकै सिलिण्डर भएपनि साटिदिन समेत आग्रह गरेक छन् । नेपाल आयल निगमले नै ग्यास नदिएको भए अथवा कर्मचारीले असहयोग गरेको खण्डमा सिधै आफुलाई भन्न समेत मन्त्री भट्टले अनुरोध गरेका छन् ।
आयल निगमले पर्याप्त मात्रामा मौज्दात बाँकी रहेको बताउँदै गर्दा बजारमा चरम अभाव हुनुको कारण समेत सोधेका छन् । निगमका अधिकारीले ग्याँसको पर्याप्त मात्रामा भएको तर उपभोक्ताले नै मौज्दात राखेकोले अभाव सिर्जना भएको बताए ।
बैठकमा मन्त्री भट्ट, राज्यमन्त्री मोतीलाल दुगड, वाणिज्य सचिव डा। बैकुण्ठ अर्याल, आपूर्ति सहसचिव प्रकाश दाहाल, वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहित सबै उच्च अधिकारी सहभागी थिए ।
यस्तै ग्यास उद्योगीहरु महेन्द्र भुसाल, धर्मराज बसौला, कृष्णभक्त श्रेष्ठ, शिवप्रसाद घिमिरे, रुद्रप्रसाद कोइराला, हरिप्रसाद पाठक र कुशप्रसाद मल्ली लगायत सहभागी थिए ।