
काठमाडौँ, चैत्र ४ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान नौ बजेदेखि लागु हुनेगरी पनौती नगरपालिकाको चारकिल्ला तोकेर कर्फ्युु आदेश जारी गरेको जानकारी दिए ।
प्रजिअ तिमिल्सिनाले पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको हो । त्यसैगरी बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
टिपरको ठक्करबाट बाटो हिँडिरहेका ३ बर्षकी बालिका र ३३ बर्षकी आमा (आमा–छोरी) को मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका थिए ।
उक्त क्रम मंगलबार पनि नरोकिएपछि प्रशासनले स्थितिलाई नियनत्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ ।