कोरोनाबिरुद्धको पुर्वतयारीः चितवनमा तीन दिनभित्र ७० शैय्याको अस्पताल बनाइने !

दियो पोस्ट  

काठमाडौँ, चैत ४ । विश्वव्यापी रुपमा महामारिको रुप लिएको कोरोनाभाइरस (कोभिड–१९) संग लड्नको लागि पुर्वतयारी स्वरुप चितवनमा ७० शैय्याको अस्पताल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा पुर्वतयारी समितीको निर्णयअनुसार ३ दिनभित्र चितवनमा कोरोनाको संक्रमित तथा आंशका गरिएका बिरामी राख्ने अस्पताल निर्माण गर्न लागिएको हो ।

उक्त अस्पताल उद्योग संघ चितवनको बन्दै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा निर्माण गरिने बताइएको छ । ७० शैय्याको अस्पतालमा ५० शैय्या साधारण वेड, १० शैय्या एचडियू, (हाइ डिपेन्टेन्ट युनिट) र दश शैय्याको आइसीयू रहने छ । अस्पताल निर्माणका लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अन्य अस्पतालहरुलाई समेत जिम्मा दिइएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

अस्पतालमा अत्यावश्य सामाग्रीहरुको व्यवस्थापन भरतपुर महानगरपालिकाको उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ, जिल्ला समन्वय समितिले गर्ने सहमती भइसकेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताएका छन् । अस्पतालका लागि क्यान्सर अस्पतालले २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर उपलब्ध गराउने जनाइएको छ ।

त्यस्तै डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आवासिय रुपमा नएै राखेर बिरामीलाई उपचार दिइने छ । काठमाडौँ सरहकै ल्याब चितवनमा बनाउनका लागि आवश्यक पहल गरिएको समेत बताइएको छ ।