
काठमाडौँ, चैत ४ । प्रदेश २ नामाकरणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दुबैको प्रस्ताव अस्वीकृत भएको छ । मंगलबार प्रदेश नामाकरणको लागि भएको निर्वाचनमा सत्तारुढ दल नेकपाले राखेको ‘जानकी प्रदेश’को प्रस्ताव र काँग्रेसले राखेको ‘मिथिला भोजपुरा’ दुबै अस्वीकृत भएका हुन् ।
मंगलबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशका लागि ३७ मत परेको थियो । १ सय ७ जना प्रदेश सभा सदस्य रहेकोमा उक्त प्रस्तावमा ३७ मत मात्र परेपछि संसदले त्यसलाई अस्वीकृत गरेको हो ।
प्रस्ताव स्वीकृत हुनका लागि ७२ मतको आवश्यकता पर्दछ । त्यसपछि दुई तिहाईको बहुमतका आधारमा प्रस्ताव पारित हुने प्रावधान रहेको छ । मंगलबार भएको निर्वाचनमा नेकपाको प्रस्तावको विपक्षमा ७० मत खसेको थियो ।
त्यसैगरि नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुराले पनि अल्पमत पाउँदै संसदबाट अस्वीकृत भएको छ । निर्णयका लागि भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्यो भने विपक्षमा ७९ मत खसेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद छन्, तर ९ मत बढी परेको छ ।