काठमाडौँ, चैत ४ । लागुऔषध नियन्त्रण ब्यूरो (नार्कोटिक्स ब्यूरो)ले लागु पदार्थ ओसारपसारमा संलग्न १२ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूराले गत फागुन देखि काठमाडौँका विभिन्न भागहरुबाट पक्राउ परेका लागु औषध कारोबारीहरुलाई मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगढी गाउँपालिका–५ का २५ बर्षीय सरोज पौडेल, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ कि २२ बर्षीया उर्मिला तामाङ, धादिङ निलकण्ठ नगरपालिका–१ का २९ बर्षीय राजकुमार गुरुङ, महोत्तरी माटीहानी नगरपालिका–८ का ३८ बर्षीय इमतियाज नदाफ रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनिहरुलाई गत फागुन २० गते पक्राउ गरेको थियो । उनिहरुबाट प्रहरीले ३ सय ९६ एम्पुल बुप्रेनार्फिन, २ सय ४४ एम्पुल डाइजेपाम र ४ सय ५ एम्पुल फेनारगन बरामद गरेको थियो । पक्राउ परेका ४ जनाको अनुसन्धान र सोधपुछ पश्चात टोलीले अन्यलाई पक्राउ गर्न सफल भएको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोले जारि गरेको प्रेस रिलिजमा उल्लेख भएअनुसार फागुन २२ गते नै पुन ठुलो परिमाणको लागुऔषधसहित बाराको कलैया उपमहानगरपालिका–७ का ३५ बर्षीय पचुदास गिरीलाई पक्राउ गरिएको थियो । काठमाडौँको बल्खुबाट पक्राउ परेका गिरिको साथबाट ३ सय एम्पुल बुप्रेनोर्फिन, ३ सय एम्पुल डाइजेपाम र ३ सय एम्पुल फेनारगन बरामद गरेको थियो ।
ब्युरोले सोही महिनाको २८ गते काठमाडौँकै गोकर्णेश्वरबाट ६ सय ६० एम्पुल बुप्रेनोर्फिन, ५ सय ९१ एम्पुल डाइजेपाम, ६ सय १५ एम्पुल फेनारगन, ५ सय ४० ट्याब्लेट नाइट्राभेटसहित अर्का एक जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ घर भई हाल गोकर्णेश्वर बस्दै आएका २१ बर्षीय सरोज राई रहेका थिए । उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अगाडी बडाइएको ब्युरोले जनाएको छ ।
राईसँगको सोधपुछ र अनुसन्धानबाट प्रहरीले लागु औषधको ठुला कारोबारीलाई नियन्त्रण लिन सफल भएको छ । यसअघिसमेत पटकपटक पक्राउ पर्दै जेलबाट छुटेकी बिरगंजका मैयादेवि श्रेष्ठलाई प्रहरीले लामो समयपछि पुन पक्राउ गर्न सफल भएको हो । उनिसहित बीरगंजकै २४ बर्षीया ज्योति बराललाई ब्युरोबाट खटिएको टोलीले चैत्र १ गते पक्राउ गरेको हो ।
गोप्य सुचनाका आधारमा काठमाडौँको कलंकीबाट पक्राउ परेकी मैयादेवि र ज्योतिको साथबाट प्रहरीले एक एक हजार एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन बरामद गरेको थियो । मैयादेवि लागुऔषध नियन्त्रण ब्युरोको खोजी सुचिमा समेत रहेकी थिईन् ।
मैयादेविलाई पक्राउ गरिसकेपछि प्रहरीले अन्य २ जनालाई समेत उनिहरुको वयानको आधारमा पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै भारतीय हुन् । प्रहरीका अनुसार पक्राउ परेका विहारका २४ बर्षीय विशाल कुमार र राम विकास कुमारलाई कारोबार गरिरहेको समयमै पक्राउ गरिएको छ । उनिहरुले धुलिखेल नगरपालिका–६ का ६० बर्षीय उद्वव आचार्यसँग कारोबार गरिरहेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट ४ सय एम्पुल बुप्रेनोर्फिन, ४ सय एम्पुल डाइजेपाम, ४ सय एम्पुल फेनारगन बरामद गरेको छ ।

ब्यूरोले चलाएको श्रृंखलावद्ध अपरेशनबाट कुल १२ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । त्यसमध्य ९ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ । पक्राउ परेकाबाट २ हजार ७ सय ५६ एम्पुल बुप्रेनोर्फिन, २ हजार ५ सय ३५ एम्पुल डाइजेपाम, ८ हजार ११ एम्पुल फेनारगन, ५ सय ४० ट्याब्लेट नाइट्राभेट र १ लाख ९४ हजार पाँच सय नगद समेत बरामद गरेको छ ।
उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाहीको प्रकृया अगाडी बढाइएको ब्युरोले जनाएको छ ।