चितवन, चैत ६ । कोरोनाभाइरससँग लड्नका लागि चितवनमा ७० शैय्याको अस्पताल निर्माण सम्पन्न भएको छ । मंगलबारबार बाट निर्माण शुरु गरिएको अस्थायी अस्पताल तीन दिनभित्र निर्माण सम्पन्न भएको हो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा निर्माण गरिएको अस्थायी अस्पतालको नाम भरतपुर कोरोना बिशेष अस्पताल राखिएको छ ।
उक्त अस्पतालमा कोरोनाको आशंका गरिएका र संक्रमितहरुलाई राखेर उपचार गरिने छ । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ । कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो । भरतपुरमा पनि त्यसकै झल्को दिनेगरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको हो ।
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको जानकारी दिइन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले ५० वेड तयार भैसकेको भन्दै वाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिइन् ।
भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा ८ वटा भेन्टिलेटर राख्नका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भइरहेको मयेर दाहालले बताएकी छिन् । आवश्यक परेको खण्डमा अस्पताललाई विस्तार गरेर ३ सय वेडसम्म राख्न सकिने बताइएको छ ।