काठमाडौँ, चैत १६ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्नका लागि लकडाउनको समयसीमा थप गर्ने तयारी गरेको छ । सरकारले यसअघि घोषणा गरेको लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ । लकडाउनको समय सक्किनु अगावै पुन लकडाउन थप गर्ने सरकारले तयारी गरेको छ ।
कोरोनाभाइरस र यसको नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे मन्त्रीपरिषद वैठक बोलाएका छन् । वैठकमा कोरोनाभाइरसबाट नेपाललाई सुरक्षित राख्ने विषयमा छलफल हुने र हालसम्मको प्रयासको बारेमा छलफल हुने जनाइएको छ ।
कोरोनाभाइरस फैलिन नदिनका लागि लकडाउनको समय थप गरिने विषयमा समेत मन्त्रीपरिषद वैठकमा छलफल हुने छ । त्यस्तै लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।
यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।
केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको छ ।
हालसम्म नेपालमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्य एक जना उपचारपश्चात निको भएर घर फर्केका छन् भने बाँकी ४ जनाको उपचार भइरहेको छ । सरकारले कोरोनाको दोस्रो संक्रमित भेटिएपछि लकडाउनको घोषणा गरेको थियो ।