
काठमाडौँ, चैत १६ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तयरीय समन्वय समितिले लकडाउनको समय थप्ने निर्णय गरेको छ । आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको सो समितिको वैठकले लकडाउनको समयसिमा ७ देखि १४ दिनसम्म थप गर्ने निर्णय गरेको हो ।
वैठकले गरेको निर्णय कार्यान्वयनको लागि मन्त्रीपरिषदमा पठाएको छ । आइतबार नै बस्न लागेको मन्त्रीपरिषद वैठकले यसबारेमा आवश्यक निर्णय गर्ने छ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यसको नियन्त्रणमा हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै समितिले उक्त निर्णय गरेको हो ।
आगामी चैत १८ गते बिहान ६ बजे यसअघि गरिएको लकडाउनको समय समाप्त हुने छ । त्यसपछि पनि कोरोनाको जोखिम बढ्ने भन्दै सरकारले नै लकडाउन बढाउने तयारी गरेको हो ।
नेपालमा हालसम्म पाँच जना कोरोना भाइरसको संक्रमित भेटिएको छ । राजधानी बाहिर समेत कोरोनाको प्रकोप देखिन थालेपछि सरकारले यसको नियन्त्रण गर्न थप लकडाउनको तयारी थालेको हो । लकडाउनसँगै दैनिक ज्यालामजदुरी गरेर जीवनयापन गर्ने श्रमिकहरुलाई परेको मारलाई मध्यनजर गर्दै सरकारले विशेष प्याकेज ल्याउने तयारी समेत गरेको छ ।
तस्वीरः रासस