विदेशबाट आएर क्वारेन्टाइनमा नबस्नेलाई कडा कारवाही गर्ने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौँ, चैत १६ । विदेशबाट फर्किएर लुकेर बस्नेहरुलाई सरकारले कडा कारवाही गर्ने भएको छ । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले भारत लगायतका देशबाट नेपाल आएर क्वारेन्टाइनमा नबस्नेहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय भारतबाट लुकिछिपी नेपाल आउने क्वारेन्टाइनमा नबस्ने र सरकारको सम्पर्कमा पनि नआउने प्रवृत्ती बढेपछि यसबाट हुने जोखिमलाई मध्यनजर गर्दै सरकारले त्यस्ता ब्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमितहरुसँगै विदेशबाट एउटै विमानमा आएकाहरु पनि सरकारको सम्पर्कमा नआएपछि सरकारले कडा कदम चाल्ने तयारी गरेको हो ।

यसअघि चैत ४ गते कतार एयरवेजको विमानमा आएका १ सय ५९ जनामध्य १ सय २५ जनामात्रै सरकारको सम्पर्कमा आएका छन् । त्यतिमात्र होइन सरकारले लक डाउनको घोषणा गरेपछि पनि नेपाल भारत सिमाबाट हजारौँ नेपाली स्वदेश फर्किएका छन् । उनिहरुमध्य अधिकांश क्वारेन्टाइनमा नबसी घर गएर बसेका छन् ।

संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको समितिका एक सदस्यले बताएका छन् ।