दमक, १६ चैत । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले संविधान निर्माणमा सबै दलले देखाएको सहकार्य र एकता यसको कार्यान्वयनमा पनि आवश्यक रहेको बताएका छन ।
मन्त्री खरेलले जारी नयाँ संविधान जनताको उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयन गर्न दलबीच सहकार्य जरुरी भएको बताए ।
आज झापाको दमकमा युवा सङ्घ झापा क्षेत्र नम्बर ७ ले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री खरेलले नेपाली काँग्रेस पनि यही सरकारमा आएर संविधान कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले भने “काँग्रेस प्रतिपक्षभन्दा सरकारमा नै सहभागी भएर संविधान कार्यान्वयनमा सामेल हुनुपर्छ ।”
मन्त्री खरेलले भारतसँग भएको केही असमझदारी समाप्त भइसकेको र सम्बन्ध सुधारोन्मुख रहेकाले अब नेपालीको असहज जनजीवन सामान्य बन्दै जाने बताए ।
प्रधानमन्त्रीको भारत र चीन भ्रमण आपसी समझदारीका लागि फलदायी रहेको र उहाँको भ्रमणका विषयमा अनावश्यक टीका टिप्पणी गर्नुको कुनै तुक छैन ।
एमालेका पोलिटब्युरोसमेत रहेका मन्त्री खरेलले भारत र चीनसँग भएका केही महत्वपूर्ण सन्धि र सम्झौताले अब नेपालको विकासमा टेवा पुग्नेछ बताए।
एक फरक प्रसङ्गमा उनले नेकपा (एमाले) अबको निर्वाचनमा सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित हुने दाबी गरे।