दियोपोष्ट संवाददाता
काठमाडौं, १८ चैत्र । विहीबारबाट सुरुभएको एसएलसी परिक्षामा काठमाडौं मै अनुगमनको नाममा मनपरि भएको पाइएको छ । आफ्नो विद्यालयको प्रतिष्ठा जोगाउन निजी र सरकारी विद्यालयका प्राध्यापक र प्रिन्सीपल सक्दो चलखेलमा लागेको पाइएको छ । अनुगमनका लागि भन्दै नीजि विद्यालयका शिक्षक तथा प्रध्यापकहरु अनुगमन कार्ड लिन लाइनमा देखिएका थिए ।
जिल्ला शिक्षा कार्यलयबाट वितरण गरिने अनुगमन कार्डमा प्रहरीका जनसम्पर्कका डिएसपी, शिक्षक संगठनका नेता, प्याब्सन एन प्याब्सन लगायतका विद्यार्थी नेताहरु समेतले अनुगमन कार्ड लिएर गएका छन् ।
एमाले अनेरास्ववियुका केन्द्रीय सदस्यका अनुसार पार्टीका नेताले समेत अनुगमन कार्ड लिएका छन् । जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीका अनुसार पास दिने चलन पहिलेदेखि नै भएपनि यसपाला अलि बढी नै अनिमियतता भएको बताउँछन् । ‘हामीले अनियमित तरिकाले वितरण गरेको टुलुटुलु हेर्नु पर्ने अवस्था आयो,’ उनले भने, ‘जो पनि कार्ड लिन आउने भए सरकारी निकायको के काम ?’
काठमाडौंकी सहायक जिल्ला शिक्षा अधिकारी गिता घिमिरे वितरणमा पारदर्शिता भएको बताउँछिन् । ‘जस–जसलाई अनुगमनको पास दिएका छौं ती सबै शिक्षा क्षेत्रसंग सम्बन्धीत व्यक्तिहरुलाई दिएका छौ,’ उनले भनिन्, ‘यो वर्षबाट ग्रेडिङ भएकाले पनि सबैको चासो चासो हुनु स्वभाविक हो ।’
परिक्षाको केन्द्राध्यक्षमा विद्यालयका प्रधानाध्यापकलाई राखिने प्रचलन छ तर शिक्षक नै नभएका एक व्यक्ति समेत केन्द्राध्यक्ष पाइएको छ । विप्लव माओवादीका शिक्षक संगठनका उपाध्यक्षलाई समेत केन्द्राध्यक्ष बनाइएको पाइएको छ ।
त्यस्तै जिल्ला शिक्षा कार्यालयले वितरण गरेको अनुगमनको फारममा नै मनपरि भएको देखिएको छ । २०७२ सालको परिक्षामा ७१ सालको फारम वितरण गरिएको छ । यसले विद्यार्थीको भविष्यमा समेत खेलबाड हुने देखिएको छ ।
विभिन्न संगठनलाई अनुगमनको नाममा दिइएका पासको लिस्ट यस्तो छ
काठमाडौं हेर्ने प्रहरीको जनसंम्पर्क कार्यलय १५
प्याब्सन १५
एनप्याब्सन १५
सामुदायीक विद्यालय व्यवस्थापन संघ ५
कांग्रेस निकट शिक्षक संघ १५
एमाले निकट शिक्षक संगठन १५
एमाओवादी नजिक शिक्षक संगठन १५
वैद्य माओवादी निकट शिक्षक संगठन १५
चन्द माओवादी निकट शिक्षक संगठन १५
इसिएनटीओ (एक संस्था) १५
अभिभावक संघ १५