कोकाकोला करछली प्रकरण : यी हुन् ७ अर्ब ४३ करोड रुपैयाँ राजश्व छल्ने भिआइपी अनुहार !

diyopost.com
दियो पोस्ट  शनिबार, फाल्गुण २८, २०७८ | १:०२:५३

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनिको लोकप्रीय पेयपदार्थ कोकाकोला नेपालमा उत्पादन गरिरहेको बोटलर्स नेपाल लिमिटेड विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो । राजश्व चुहावट गरको भन्दै कम्पनि विरुद्ध विभागले ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ भन्दा बढी जरिवाना बिगोसहित ३ वर्ष कैद सजाय माग गरेको छ ।

बोटलर्स नेपालले अफ्सोर कारोबार मार्फत अधिकांश शेयर विक्री गरेको थियो । सन् २०१४ अक्टोबर २४ मा नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाले शतप्रतिशत शेयर आयरलैण्डस्थित यूरोपियन रिफ्रेसमेन्ट नामक कम्पनिलाई विक्री गर्दा अर्बौं रुपैयाँ राजश्व छली गरेको विभागको दाबी छ ।

विभागका अनुसार कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको १४ लाख ८४ हजार ३०१ कित्ता शेयर बिक्रीवापत ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ रुपैयाँ पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५५ का दरले १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२, सोही ऐनको दफा ७(१) बमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने ३ करोड ४१ लाख ९५०, दफा ११८ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२, दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने १ अर्ब १० करोड २२ लाख ६५ हजार ११५ र दफा १२०(ख) बमोजिमको शुल्क १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ समेत कूल बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विभागले बोटलर्स नेपाल लिमिटेड र सो कम्पनीको शेयर होल्डर कोकाकोला साब्को एसियाका तर्फबाट ९ जना बोर्ड सदस्यहरू तथा कम्पनीका प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका थप ८ जनालाई प्रतिवादी बनाएको छ ।

बिगो रकम ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ असुल गरी बिगोको शतप्रतिशत अर्थात् ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ गरी जम्मा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ जरिवाना र संलग्नहरूलाई तीन वर्ष कैद सजाय माग गरिएको छ ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा यो कम्पनि किनबेच भएको वर्षौं पछि पनि लाभकर छलीको खबर गुपचुप राखिएको थियो ।

यी हुन् राजश्व छलीका अभियुक्त

विभागले दुबईस्थित कोकाकोला साउथवेष्ट होल्डिङ लिमिटेड साविक कोकाकोला साब्को एशियाका अध्यक्ष शुक्ला वासेनलाई प्रमुख अभियुक्त बनाएको छ । त्यस्तै निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन घोनाइन, गौरभ खोस्ला, सुन्दिप बाजोरिया, देवब्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोलाई कप्पुस्वामी र संकेत रोय लगायत संचालकहरुलाई ३ वर्ष कैद सजाय माग गरिएको छ । त्यस्तैगरि कम्पनिका प्रबन्ध निर्देशक प्रदीप पाण्डे, प्रबन्ध निर्देशक पुनीत चन्द्रपानल भर्सने, लेखा व्यवस्थापक भरतबाबु दाहाल, सुमित गोयल, अशोक कुमार मण्डल सञ्जिव कुमार मिश्र लगायतलाई कैदै सजाय माग गर्दै मुद्दा दायर गरिएको हो । कर्मचारी तथा व्यवस्थापकलाई भने डेढ वर्ष कैद र विगो दाबी गरिएको छ ।

सम्बन्धित खबर