चीनका विदेशमन्त्री आज नेपाल आउँदै, ५६ अर्ब अनुदान सम्झौताबारे छलफल हुने !

diyopost.com
दियो पोस्ट  शुक्रबार, चैत्र ११, २०७८ | १२:२२:४९

काठमाडौं । चीनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् । स्रोतका अनुसार भ्रमणका समयमा सन् २०१९ मा नेपाल भ्रमणमा आएका चीनियाँ राष्ट्रपति सिजिनपिङले प्रतिबद्धता गरेको ५६ अर्ब रुपैयाँ अनुदानबारे छलफल हुनेछ ।

एक दर्जन पुराना सम्झौतालाई कार्यन्वयन गर्ने विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै बहुप्रतिक्षित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना अघि बढाउने विषयमा पनि छलफल हुने छ ।
नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म त्यसबाट कुनै लाभ लिन सकेको छैन ।

 

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । उनले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । संघीय संसद्बाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरेको एक महिनाभित्रै चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो । एमसीसी सम्झौता पारित हुने क्रममा अमेरिकाले नेपाललाई गरेको हस्तक्षेपबारे चीनले विरोध जनाउँदै आएको छ ।

सम्बन्धित खबर