
काठमाडौं । कोभिड १९ महामारीका क्रममा विश्व बैंकले नेपाललाई दिएको ऋण अनुदान रकममा हालै भएको स्वास्थ्य सामग्री खरिदमा चरम घोटाला भएको तथ्य फेला परेको छ ।
स्वास्थ्य मन्त्रालय मातहत रहेको स्वास्थ्य विभागले विश्व बैंक र एडिबीले दिएको करोडौँ रकमबाट खरिद गर्न टेण्डर स्विकृत गरेको स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको आरोप छ । विभाग मातहत रहेको आपूर्ति व्यवस्थापन महासाखाले खरिद प्रक्रिया अपनाएको पोर्टेवल युएसजी मेसिन खरिदमा २० करोड रुपैयाँभन्दा बढी घोटाला भएको आरोप छ ।

विभागले बोलपत्र आह्वान गर्दा यज्ञ भण्डारी र विमल उप्रेतीको स्वामित्व रहेको म्याक्स मेडिटेक सिस्टम प्रा.लीलाई सेटिङ्गमै ठेक्का दिइएको थियो । सन् २०२४ फेब्रुअरी १४ मा ‘दि राइजिङ्ग नेपाल दैनिकमा विभागले प्रकाशित गरेको बोलपत्र छनौटको सुचना अनुसार सो कम्पनिले २९ करोड ९६ लाख रुपैयाँमा २०० सेट पोर्टेवल युएसजी मेसिन खरिदको ठेक्का पारेको थियो ।

कम्पनिले एक सेट पोर्टेवल युएसजी मेसिनको १५ हजार डलरभन्दा बढी मुल्यमा विभागले सहमति दिएको छ । जबकी सोही कम्पनिले अन्य अस्पताललाई प्रति सेट ८ हजार डलरमा विक्री गर्दै आएको स्रोतले बताएको छ । अमेरिकास्थित जिई हेल्थ केयरले उत्पादन गरेको भिस्क्यान पोर्टेबल युएसजी मेसिनको मुल्य वेभसाइटमै जम्मा ४ हजार ८ सय ५५ डलर उल्लेख गरेको छ । तर, विभागले भने सोही उपकरणको मुल्य १५ हजार डलरभन्दा माथिमा स्विकृत दिएर खरिद प्रक्रिया टुंग्याएको हो । विभागकै स्विकृति अनुसार खरिदकर्ताले एलसी खोलेर सामान ल्याउने अन्तिम चरणमा पुगेको छ ।
सन् २०२३ मा जिई हेल्थकेयरले यो प्रविधि नेपालमा पनि सार्वजनिक गरेको थियो ।
वायरलेस, ह्याण्डहेल्ड अल्ट्रासाउन्ड सिस्टम डिजाइन गरिएको थियो । भिस्क्यान एयर नामक यो पोर्टेवल युएसजी मेसिनले पुरा शरिरको स्क्यान गर्न सक्ने क्षमता राख्छ । यसको आधिकारीक वेभसाइटमै जम्मा ४ हजार ८ सय ५५ डलर अर्थात आजको विदेशी विनिमय दर अनुसार नेपाली ६ लाख ४७ हजार २ सय ५० रुपैयाँ प्रति सेट पर्न आउँछ । यसरी हिसाब गर्दा २ सय सेटको मुल्य १२ करोड ९४ लाख रुपैयाँ हुन आउँछ । तर, विभागले भने २ सय सेटकै लागि उक्त कम्पनिलाई करिब ३० करोड रुपैयाँको बोलपत्र स्विकृत गरेको छ । ‘यो ठूलो भ्रष्टाचार हो । यसमा राज्यकै उच्च तहका व्यक्तिको संलग्नता छ,’ स्वास्थ्य विभागकै एक अधिकारीले दियोपोस्टसँग भने,‘विश्व बैंक र एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायले दिएको अनुदानमा समेत यस्तो हुनु आफैमा लाजमर्दो विषय हो ।’

स्रोतका अनुसार हाल खरिदको ठेक्का पाएका भण्डारी निवर्तमान स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत निकट व्यक्ति हुन् । कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रिपेयरनेश प्रोजेक्टका नाममा यो विश्व वैंकले ऋण अनुदान दिएको हो । यो खरिद प्रक्रिया पहिलेदेखि नै विवादमा आएपछि राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको थियो । गत कार्तिक ९ गते नै छानबिनका लागि स्वास्थ्य विभागलाई सतर्कता केन्द्रले पत्राचार गरेको थियो । पत्रको बेवास्ता गर्दै विभागले खरिद प्रक्रिया अघि बढाएको विभागकै एक अधिकारी बताउँछन् । ‘सतर्कता केन्द्रले खरिद प्रक्रिया स्थगित गर्नु भनेको थियो । तर, त्यो पत्रलाई पनि अवज्ञा गरियो,’ विभागका ती अधिकारी भन्छन् ।

यसमा म्याक्स मेडिटेकसहित चार वटाले टेण्डर हालेका छन् । विभागले आह्वान गरेको टेण्डरमा सिन्धु सर्जिकल, हस्पिटेक र लुम्बिनी हेल्थ केयरले टेण्डर हालेका थिए । त्यतिबेला नै जिइकै उत्पादनलाई नै टेण्डर पार्ने गरि ठेक्का सेटिङ्ग गरिएको थियो । विभाग भित्रका अन्य खरिदमा समेत अर्बौं घोटाला भएको छ । घोटालाकै लागि तत्कालिन स्वास्थ्य मन्त्री मोहन बस्नेतले संगीता मिश्रलाई विभागको महानिर्देशक बनाएर ल्याएको चर्चा छ ।
विभागका सुचना अधिकारी नै सम्पर्कविहिन
स्वास्थ्य सेवा विभागको वेभसाइटमा सुचना अधिकारी भवनाथ खतिवडा रहेको जानकारी दिइएको छ । उनको मोबाइल नम्बर पनि उल्लेख छ । तर, उल्लेखित मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।