ज्ञानेश्वरस्थित सहिद स्मारक स्कुलको सरकारी जग्गा ‘भारतीय’ आलोक विद्याश्रमद्वारा कब्जा !

अस्मिता खड्का  

काठमाडौं । काठमाडौंको ज्ञानेश्वर ओरालोदेखि रातोपुलतर्फ जादा बायाँपट्टि शहिद मार्ग छ । शहिद मार्ग प्रवेशद्धारादेखि झण्डै ३ सय मिटरको दुरी पार गरेपछि आउँछ, आलोक विद्याश्रम विद्यालय ।

जहाँ कुनै समय शहिद स्मारक आवाशीय माध्यामिक विद्यालयको नाममा दर्ता भएको मार्टियस स्कुल सञ्चालन हुने गर्थ्यो । तर, अहिले यो स्कुल एकाएक गायब भएको छ । त्यहाँ अचनाक भारतीय पाठ्यक्रम पढाइने आलोक विद्याश्रमले अवैध रुपमा कब्जा गरेको तथ्य भेटिएको छ ।

भारतीय पाठ्यक्रम पढाई हुने आलोक विद्याश्रम निजी क्षेत्रबाट सञ्चालित विद्यालय हो । जुन उक्त बत्तीसपुतली, ज्ञानेश्वर हुदै शहिद मार्गस्थित मार्टियस स्कुलको भवनमा सरेको जानकारहरु बताउँछन् ।

मार्टियसको सम्पतीमा कसरी सञ्चालन भयो आलोक विद्याश्रम ?

तत्कालिन राजा महेन्द्रले विस २०१७ सालमा ‘कु’ गरेपछि खुलामञ्चमा भाषण गरिरहेका बेला राजा महेन्द्रलाई कालो झण्डा देखाएर शैलजा आचार्यसँगै विरोध गर्ने गौरी जोशी राणाले स्थापना गरेको विद्यालय हो, शहिद स्मारक माध्यामिक विद्यालय अर्थात् मार्टियस मेमाेरियल स्कुल ।

गुगल अर्थमा खोजी गर्दा अहिलेपनि मार्टियस स्कुल सोही स्थानमा देखाउँछ ।

विस २०२५ सालमा स्थापना भएको मार्टियस स्कुल स्थापनाकालमा नक्सालबाट सञ्चालन हुने गर्थ्यो । सोहि स्कुल पछि गएर कमलपोखरी हुदै २०३५ सालमा शहिद मार्गमा स्थानान्तरण भएको थियो । झन्डै ६ रोपनी रोपनी ९ आना सरकारी जग्गामा फैलिएको उक्त स्थानमा मार्टियसले पछिलो समय आफ्नै भवन र अन्य भौतिक संरचना खडा गरेको थियो । कुनै समय कक्षा १२ सम्म पठनपाठन हुने उक्त विद्यालय विधार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेको थियो ।

संस्थापक गौरी जोशी राणाको अध्यक्षतामा सञ्चालित विद्यालय व्यवस्थापन समितिले मार्टियस स्कुल बन्द गराएको थियो । त्यसयता नेपाल सरकारको स्वामित्वमा रहेको मार्टियस स्कुलको सम्पतीमा आलोक विद्याश्रम सञ्चालन भइरहेको छ ।

Photo Source :  https://www.alokvidyashram.com/

समितिले नै उक्त संरचना आलोक विद्याश्रमलाई भाडामा दिएको मार्टियस स्कुलका पुर्व कर्मचारी गोपाल आचार्य बताउँछन् । ‘त्यो स्कुल बन्द हुनुभन्दा ३ वर्षअघि नै म स्कुलबाट विदाई भैसकेको थिएँ । गौरी जोशी राणाले विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएपछि भाडामा दिएको भन्ने सुनेको हो’ उनी भन्छन्, ‘आलोक विद्याश्रमले झन्डै ३ वर्षअघि १० वर्षको लागि मार्टियस स्कुलको संरचना भाडामा लिएको हो । गौरी जोशी राणाको छोरीले मासिक भाडा ३ लाख उठाउने गरी भाडामा दिएको भन्ने सुन्नमा आउँछ । यसबाहेक अरु मलाई थाहा छैन ।’

हाल मार्टियस स्कुलकी संस्थापक अध्यक्ष गौरी जोशी राणाको निधन भइसकेको छ । आलोक विद्याश्रम सञ्चालित जग्गा र त्यहाँ निर्मित भौतिक संरचनाहरु शहिद स्मारक माध्यामिक विद्यालयको नाममा रहेको वडा न ३० को कार्यालयले जनाएको छ ।

कमाउने आलोक विद्याश्रम, कर तिर्ने मार्टियस स्कुल

भारतीय र नेपाली पाठ्यक्रम पठाइरहेको आलोक विद्याश्रमकी प्रिन्सीपल व्यवसायी बनबारीलाल मित्तलकी छोरी बानिता मित्तल छिन् । उक्त विद्यालयमा नेपाली र भारतिय विधार्थी भर्ना हुने गर्छन् ।

शैक्षिक सेवाबाट आम्दानी आलोक विद्याश्रमले गर्ने भएपनि त्यसको कर भने मार्टियस स्कुलले नै तिरिरहेको खुलेको छ । आलोक विद्याश्रमले कर नतिरेर मार्टियस स्कुलले नै हालसम्म वडा कार्यालयमा कर तिरिरहेको वडा न ३० का वडाध्यक्ष दलबहादुर कार्की बताउँछन् । ‘कमाउने काम आलोकले गरिरहेको छ तर कर भने मार्टियस स्कुलले नै तिरिरहेको छ’ उनी भन्छन्, ‘कानुनअनुसार आलोक विद्याश्रमले नै कर तिर्नुपर्ने हो ।’

विद्यालयमा वडाध्यक्षलाई नै प्रवेश निषेध

आलोक विद्याश्रम वडा कार्यालयसँग समेत सम्पर्कमा नआउने गरेको पाइएको छ । विद्याश्रमको अनुमतीविना आफुलाईसमेत प्रवेश गर्न नपाएको वडा न ३० का वडाध्यक्ष कार्कीको गुनासो छ । ‘आलोक विद्याश्रमको हामीसँग पनि सम्पर्क हुँदैन’ उनी भन्छन्, ‘मार्टियस स्कुलको सम्पतीमा अर्कै विद्यालय सञ्चालन भएकोले गतवर्ष हामीले कुन्नी के विषयमा हो अब उप्रान्त सहि गर्दिन भनेर पठाएका थियौं । त्यसयता उनीहरु हामीसँग सम्पर्क गर्दैनन् । उनीहरुले विद्यालयको कुनैपनि बैठकमा बोलाउदैनन् । त्यहाँ जानुपर्यो भनेपनि हामीले उनीहरुसँग अनुमती माग्नुपर्छ । जबकी मैले आफ्नो कार्यक्षेत्रभित्र रहेका जुनसुकै विद्यालय, कलेजहरुमा निर्धक्क पाउँछु । तर आलोक विद्याश्रममा भने उनीहरुको अनुमतीविना त्यहाँ प्रवेश पाइदैन ।’

वडा न ३० का वडाध्यक्ष दलबहादुर कार्की

वडाले उक्त स्थानमा या त मार्टियस स्कुल सञ्चालन हुनुपर्ने हैनभने हाल सञ्चालित आलोक विद्याश्रम बन्द हुनुपर्ने निर्देशन दिँदै आएको छ । तर आलोक विद्याश्रम भने न त बन्द हुने अवस्थामा छ नत त्यहाँ मार्टियस स्कुल नै पुर्नस्थापना हुने अवस्था छ ।

कानुनविपरित आलोक विद्याश्रम सञ्चालन भएकोले पनि उनीहरु सम्पर्कमा आउन नचाहेको हुन सक्ने वडाध्यक्षको अनुमान छ । ‘कानुनअनुसार त्यहाँ मार्टियस स्कुल नै चलाउनुपर्छ । त्यो जग्गा सरकारको नाममा छ’ वडाध्यक्ष कार्की भन्छन्, ‘पहिले पनि त्यहाँ शहिद स्मारक माध्यामिक विद्यालाय हुनुपर्नेमा त्यसको सट्टा अंग्रेजी नाम मार्टियस स्कुल राखेका थिए । तिनै मार्टियस स्कुलकाहरुले आलोकलाई भाडामा दिए । उक्त विद्यालय शहिद स्मारकको नाममा किनेको र त्यहि नाममा दर्ता भएकोले अब पनि उक्त जग्गा र विद्यालय त्यहि नाममा हुनुपर्छ । त्यहि नामको विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो अडानले हुन सक्छ आलोक विद्याश्रम हाम्रो सम्पर्कमा आउन चाहदैन ।’ मार्टियस स्कुल सञ्चालक समितिले विद्यालयको भवन आलोक विद्याश्रमलाई बहालमा दिएपनि आफु र आफ्ना विद्यार्थी कता पठाए भन्नेबारे आफुहरु समेत जानकार नरहेको उनको भनाई छ ।

संस्थापक मित्तल भन्छिन्,‘राणा परिवारसँग भाडामा लिएका हौँ, अरु विषय मलाई थाहा छैन’

यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले आलोक विद्याश्रमकी संस्थापक बानिता मित्तललाई सम्पर्क गरेको थियो ।

आलोक विद्याश्रमकी कार्यकारी निर्देशक तथा संस्थापक बानिता मित्तल

उनले आफूहरुले गौरी जोशी राणाको परिवारसँग उक्त जग्गा सहितको संरचना भाडामा लिएको बताइन् । दियोपोस्टले के कस्तो सम्झौता गर्नुभएको छ भनि प्रश्न गर्दा उनले उक्त सम्झौताबारे आफूलाई केही थाहा नभएको र केही समयमा सम्पर्क गर्न लगाउने भन्दै प्रश्नबाट पञ्छिने कोशिस गरिन् ।