कर नतिरे नयाँ शक्तिले एनसेल बहिस्कार गर्ने

दियो पोस्ट  

काठमाडौं, ५ वैशाख  । नयाँ शक्ति नेपालले एनसेल स्वामित्व हस्तान्तरण गर्ने कम्पनी टेलियोसेरेनाले समयमै कानुनबमोजिमक कर नतिरे देशव्यापीरुपमा एनसेल बहिस्कार गर्ने चेतावनी दिएको छ ।
नयाँ शक्ति नेपालले आइतबार ठूला करदाता कार्यालय हरिहर भवनका प्रमुख कार्यकारी करअधिकृत शोभाकान्त पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । नेतृ कल्पना धमलाको नेतृत्वमा कर कार्यालय पुगेको एक टोलीले कानुन बमोजिम राज्यलाई घाटा पर्ने गरी कर नतिरेमा देशव्यापीरुपमा एनसेलको प्रयोग बहिस्कार गर्ने अभियान चलाउने दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै नेतृ धमलाले भन्नुभयो, ‘एनसेलको सम्पूर्ण शेयर स्वामित्व बिक्री भएको तर स्थानीय स्वामित्वको २० प्रतिशत मात्र पूँजिगत लाभकर असुल भएको कुरा सार्वजनिक जानकारीमा आएको छ, ।’ उहाँले यदि प्रचलित कानुनविपरीत राज्यलाई घाटा वा नोक्सान पर्नेगरी वा कर दायित्व कम गर्ने वा कर असुली गर्न आलटाल गर्ने काम हुनु मुलुककालागि दुःखदायी कुरा भएको बताउनुभयो । ‘यदि यस्तै गरियो भने हामी एनसेलको सेवा बहिस्कार गर्ने राष्ट्रव्यापी अभियान चलाउँछौं ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ठुला करदाता कार्यालयले सुशासन कायम गर्न आफनो ध्यान केन्द्रित गर्दै राज्यको तर्फवाट ठुला करदाताहरुवाट कानुनवमोजिम कर असुली गरी देश विकासका निम्ति र आधारभुत जनताको सेवाकानिम्ति श्रोत परिचालन गर्न आफनो ध्यान केन्द्रित गरोस भन्ने पनि हामी गंभिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’ ‘नयाँ शक्ति नेपाल कुनै मोलाहिजा वा दवावमा नपरी चाँढो पूँजिगत लाभकर असूल गर्न ठुला करदाता कार्यालयलाई अनुरोध गर्दछ,’ पत्रमा भनिएको छ, ‘यदि प्रचलित कानुन विपरित राज्यलाई घाटा वा नोक्सान पर्नेगरी वा कर दायित्व कम गर्ने वा कर असुली गर्न आलटाल गर्ने काम भयो भने एनसेलको सेवा वहिष्कार गर्ने राष्ट्रव्यापी अभियान नयाँ शक्ति नेपाले संचालन गर्न बाध्य हुने व्यहोरा पनि जानकारी गराउन चाहन्छौं ।’