के के छन् कनकमणि दीक्षितमाथि आरोप ?

दियो पोस्ट  

काठमाडौं, १० वैशाख । अख्तियारको हिरासमा रहेका हिमाल खबर साप्ताहिकका प्रकाशक तथा साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले विज्ञप्ति निकालेको छ । आयोगका अनुसार दिक्षितले साझा यातयातको अध्यक्षको हैसियतमा सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको विषयमा मुद्दा परेको छ ।
उनले आर्थिक हिना मिना गरि स्वदेशी तथा विदेशी विभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको तथा साझा यातयातको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको र त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको तथा उनका परिवारका नाममा समेत राखेको विषयमा समेत अख्तियारमा उजुरी परेको थियो । उनले अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेको बताइएको छ । स्वर्गीय मदन शम्सेर राणाकी श्रीमती जगदम्बा राणाका नाममा रहेका चल अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको आरोपमा समेत उनीमाथि छानबीन भइरहेको छ ।
गत पुस, ३० गते उनले अख्तियारमा सम्पत्ति विवरण बुझाएका थिए ।
आयोगले अनुसन्धानको क्रममा भेटेको प्रमाणहरु र उनले बुझाएको विवरणबीच फरक देखिएको थियो । ‘अनुसन्धानका क्रममा दिक्षितले सो सम्पत्ति विवरणमा समुल्लेखन गर्नु भएको आफ्नो एवं परिवारका नाममा रहेको चल, अचल सम्पत्ति, बैंक खाता लगायतका विवरणहरु यकिननका लागि सम्बद्ध निकायहरुमा पत्राचार गरिएको र सो बाट संकलित कागजात एवं विवरण, निजले आयोगमा उपलब्ध गराएको सम्पत्ति विवरणसँग मेल खाएको देखिएन,’ अख्तियार द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अख्तियारका अनुसन्धान अधिकृतद्वारा पटक(पटक टेलिफोन तथा पत्राचार गरि सूचित गर्दा समेत दीक्षितले अवज्ञा गरि आयोगमा उपस्थित नहुने निवेदन दर्ता गराएका थिए । ‘पहुँच र प्रभावका आवरणमा कानूनको अवज्ञा गर्ने प्रबृत्ति प्रति घोर भर्त्सना गर्दै आयोग, यस्तो दुष्प्रवृत्तिलाई निस्तेज गर्न सर्वथा प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन्छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भएको छ ।

अख्तियारले जारी गरेको विज्ञप्ति

kanak mani dixit