भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी : राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त

दियो पोस्ट  

जननिर्वाचित राष्ट्रप्रमुखको सवारीका लागि आकाश पनि ५७ मिनेट खाली गराइयो

राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् । 

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नुपर्‍यो । 

राष्ट्रपतिको सम्मानका नाममा उनको सवारी हुँदा सडक र विमानस्थल खाली गराउन थालेपछि गणतन्त्र नै बदनाम बन्न थालेको छ । शासन व्यवस्था फेरिए भने शासनशैली नफेरिएको भन्दै यसको व्यापक आलोचना हुँदै आएको छ । सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक–पटक आलोचना गर्दा पनि सरकारले यसमा सुधारको प्रयास गरेको छैन । यसकारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितृष्णा बढेको छ । 

बुधबार त्रिभुवन विमानस्थले बिहान १०ः३० देखि ११ः१० सम्म उडान तथा अवतरण वर्जित गरिएको नोटिस टु एयरमेन (नोटाम) जारी गरेको थियो । तर, त्यस अवधिभित्र समेत राष्ट्रपतिको विमान उडेन, करिब १७ मिनेट ढिला भयो । ४० मिनेटका लागि जारी भएको नोटाममा फेरि २० मिनेट थप गरियो । यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियसम्मका उडान पूरै अवरुद्ध भए । 

एकातिर त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थलको सञ्चालन समय २१ घन्टाबाट घटाएर १४ घन्टा बनाइएपछि विमानस्थलमा चाप बढेको छ । त्यसैमाथि राष्ट्रपतिको उडानका लािग एक घन्टा सबै विमान रोकिएपछि बुधबार दिनभरिको उडान प्रभावित भए । त्रिभुवन विमानस्थलमा दैनिक औसत तीन सय उडान हुन्छन् । बुधबार १०ः३० पछि करिब ८० वटा अन्तर्राष्ट्रिय र एक सय २० आन्तरिक उडान प्रभावित भएका हुन् । 

सबै विमान उडानमा ढिलाइ 
राष्ट्रपतिको उडान–तालिकाका कारण त्रिभुवन विमानस्थलमा बिहान १० बजेपछिका सबै उडान निर्धारित तालिकाभन्दा ढिला भए । अन्तर्राष्ट्रिय उडानतर्फ निर्धारित समयभन्दा १५ मिनेटदेखि एक घन्टाको ढिलाइ भयो भने आन्तरिकतर्फ अढाई घन्टासम्म ढिलाइ भयो । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले नोटाम लागू भइसकेपछिका सबै उडान पछि धकेलिएको बताए । बुधबारका लागि निर्धारित सबै उडान ढिला भए पनि राति १० बजेसम्ममा गराइसकिएको उनले बताए । 

विभिन्न विमानस्थलबाट काठमाडौं आउन खोज्ने र काठमाडौंबाट विभिन्न विमानस्थलमा यात्रा गर्न लागेका हजारौँ यात्रु प्रभावित भए । विराटनगरबाट काठमाडौं आएका यात्रु उदय पौडेलले निर्धारित समयभन्दा तीन घन्टा उडान ढिलो हुँदा धेरै अप्ठ्यारो परेको बताए ।

यसरी जारी हुन्छ नोटाम
भिआइपीको उडानसम्बन्धी नोटाम जारी गर्नुपरे परराष्ट्र मन्त्रालयले त्यसको जानकारी विमानस्थल व्यवस्थापनलाई दिन्छ । सोही आधारमा विमानस्थलले सूचना जारी गर्छ । नोटाम कम्तीमा ३५ मिनेटका लागि जारी गर्नुपर्ने हुन्छ । यस अवधिमा कुनै पनि विमानलाई विमानस्थलमा नआउन भनिन्छ ।

नोटामको अवधिलाई ध्यान दिएर सोहीअनुसार जहाजहरूले उडान भर्छन् । सामान्यतया तीन–चार दिनअघि नै नोटाम जारी गरेर सम्बन्धित विमानस्थलमा उडान र अवतरण गर्ने विमान कम्पनीलाई पठाउने गरिन्छ ।

नोटामको समयमा उडान–तालिकामा ढिलाइ हुने भए पनि नउडाउ भनिएको समयमा उडान भर्ने जहाज मात्र आकाशमा होल्डमा पर्ने त्रिभुवन विमानस्थलले जनाएको छ । आन्तरिकतर्फका उडान भने सम्बन्धित विमानस्थलमा नै होल्डमा रहेका थिए । नयाँपत्रिका दैनिकबाट