जनककन्दनी गाउँपालिका–२ का वडाध्यक्ष कोरोनाको आशंकामा क्वारेन्टाइन भर्ना

दियोपोस्ट संवाददाता

जनकपुर, चैत २४ । जनकपुरको जनककन्दनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा क्वारेन्टाइन भर्ना गरिएको छ । आइतबार भारतको बिहारस्थित मधुवनीबाट फर्केका वडाध्यक्ष पाठकलाई स्थानीयवासी र प्रहरी प्रशासनको आग्रहमा क्वारेन्टाइनमा राखिएको हो ।

उनी मधुवनीबाट फर्केर घर आएपछि त्रसित बनेका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष पाठकबारे जानकारी गराएर क्वारेन्टाइनमा राख्न प्रहरीलाई दवाव दिएको थियो । त्यसपछि प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेर क्वारेन्टाइनमा पठाइएको थियो ।

कोरोनासंक्रमित र आशंका गरिएकाहरुलाई राख्नको लागि जनककन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरीमा रहेको विद्यालयमा क्वारेन्टाइनको निर्माण गरिएको छ । उक्त क्वारेन्टाइनमा वडाध्यक्ष सहित ९ जना रहेका छन् । अन्य ८ जना विदेशबाट फर्किएका स्थानीय नागरिकहरु हुन् ।

सम्बन्धित खबर

सिफारिस