काठमाडौँ, वैशाख ५ । सर्वोच्च अदालतले पैदल हिँडेर घर तर्फ लागेका सर्वसाधारणलाई सुरक्षित रुपमा घर पुर्याउनका लागि सरकालाई निर्देशन दिएको छ । शुक्रबार न्यायधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलाशले सुरक्षाको उपाय अपनाएर सर्वसाधारणलाई गन्तब्यमा पुर्याउन सरकारको नाममा आदेश जारि गरेको हो ।
राजमार्गको बाटो हिँड्दै गन्तब्यतर्फ लागेका मानिसहरुलाई सवारी साधनको व्यवस्था गरि आवश्यक सुरक्षा अपनाएर निशुल्क रुपमा घरमा पुर्याउन सरकालाई सर्वोच्चले आदेश दिएको हो । विकल्पको अभावमा वाध्यतामा परि हाल काठमाडौँ र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित रुपमा गन्तब्यमा पुर्याउनु राज्यको प्राथमिकता रहेको आदेशमा उल्लेख गरिएको छ ।
सरकारले विशेष टोली परिचालन गरि उनिहरुमा आरडीटी परिक्षण गर्ने र शंकास्पद हरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नसमेत आदेश गरिएको छ । ‘उनीहरुको र्यापिड टेष्ट गर्दै सुरक्षाको लागि अपनाउनुपर्ने सबै आवश्यक उपायहरु अवलम्वन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरुलाई सरकारको कार्यमा आस्वस्थ हुने गरी अविलम्ब सबै राजमार्गहरुबाट सवारी साधनहरुको निशुल्क व्यवस्था गरी उनीहरुको गन्तव्य स्थानमा पुर्याइदिनू ।’आदेशमा भनिएको छ ।