
काठमाडौँ, वैशाख ६ । सरकारले जारि गरेको लकडाउनको कारण दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका श्रमिकहरु प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् । राजधानीमा ज्यालामजदुरी गर्दै आएका श्रमिकहरु लकडाउनको कारण भोकभोकै बस्नु पर्ने स्थिति आउन थालेपछि राजधानीबाट रातारात हिँडेरै गाउँ जान थालेका छन् ।
सरकारले हिँडेर लामो यात्रा गर्न निस्कनेहरुलाई रोकिन आदेश गरेको छ भने खाद्यान्नको व्यवस्था गर्न समेत निर्देशन दिएको छ । तर कार्यान्वयन भने निकै फितलो देखिएको छ । यसबिचमा चन्द्रागिरि नगरपालिकाले भने खान बस्नको समस्या भएपछि राजधानी बाहिरिन लागेकाहरुका लागि खान र बस्नको ब्यवस्था गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको शुक्रबार बसेको वैठकले खानाको समस्या भएर पैदल हिँडेरै गाउँ फर्कन लागेका मजदुरहरुलाई लकडाउन अवधीभर खाना र बस्नको व्यवस्था गर्ने निर्णय गरेको हो । त्यसका लागि चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा क्वारेन्टाइन निर्माण गरि बास बस्ने व्यवस्था मिलाइएको हो ।
शुक्रबार नै राजधानीबाट बाहिरिन लागेका ४९ जनालाई खाना खुुवाएर क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले खानाको अभाव भइ समस्यामा परेका मजदुर, गरिब र असहायहरुलाई समेत खाना खान आउनका लागि आग्रह गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि सभाका सांसद अन्जना बिशन्खे, पुर्व सांसद रुपा महर्जन, प्रदेश सभाका सांसद रमा आले मगर, राष्ट्रिय युवा संघका प्रतिनिधि तथा चन्द्रागिरि नगरपालिकाका प्रतिनिधी साथै स्थानीय राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासनको सहकार्यमा यी सबै व्यवस्था गरिएको हो ।