काठमाडौँ, वैशाख १० । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवबिरुद्ध मुद्धा दर्ता भएको छ । लकडाउन प्रभावितहरुलाई राहतस्वरुप वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि मेयर यादवसहित १२ जनाबिरुद्ध मुद्धा दर्ता भएको हो । उनिहरुबिरु कालोबजारी तथा सामाजिक अपराध अन्तर्गत मुद्धा दर्ता भएको हो ।
नगरको दुई वटा वडाहरुमा राहतस्वरुप बाँडिएको दाल र चामल कुहिएको भेटिएको थियो । राहतमा वितरण गरिएको दाल यसअघि मेयर रायकै स्वामित्वमा रहेको कोल्ड स्टोर बाट खरिद गरिएको थियो । घटनामा मेयर रायको संलग्नता भेटिएपछि उनलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय बाराका अनुसार पक्राउ परेका मेयर रायलाई मंगलबार नै जिल्ला अदालत उपस्थित गराई ७ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरिएको छ ।
मंगलबार प्रहरीले यादव आईस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव र कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारीलाई समेत नियन्त्रणमा लिएको थियो ।
यसअघि प्रहरीले ५ जना वडा अध्यक्ष, १ जना वडा सचिव लगायतलाई नियन्त्रणमा लिइसकेको थियो । वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजनप्रसाद कुर्मी, वडा नं २६ का महेश साह, वडा नं २० का सचिव खेदु मियाँ, कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगञ्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आईस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए । वडा नं २० बसतपुरमा पनि कुहिएको दाल वितरण गर्न थालेपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।