
काठमाडौं, ११ वैशाख — चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी जारी गरेको अध्यादेश फिर्ता लिने भएका छन् । अध्यादेश फिर्ता लिनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले दबाव दिएका थिए । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालुवाटार पुगेका थिए ।
स्थायी समितिका २० सदस्यले विज्ञप्ति निकालेरै विरोध गरेका थिए । यता सचिवालय र मन्त्रिपरिषदका ७ सदस्यले पनि अध्यादेशको विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले आजै साँझसम्म अध्यादेश फिर्ता लिने तयारी गरेको समेत उच्च स्रोतको दाबी छ ।
संविधानको धारा ११४ को उपधारा २ ’ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।
राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको बताइएको छ ।