
काठमाडौं, १२ वैशाख । नेकपा भित्रै चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकको सिफारिस पछि राष्ट्रपति भण्डारीले अध्यादेश फिर्ता गर्ने बताइएको छ । राष्ट्रपति भण्डारीले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । मन्त्रिपरिषदबाट सिफारिस भएको एक घण्टामै भण्डारीले अध्यादेश जारी गरेकी थिइन् ।
दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा समेत प्रकाशित गरिएको थियो ।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेकपाका ६ शिर्ष नेताहरुले भैँसेपाटी स्थित बामदेव गौतमको घरबाट अध्यादेश फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएका थिए ।