कर्जा सुरक्षण कोषमा ‘आर्थिक अपराध’ : सेन्चुरी बैंकको कल खातामा कसरी पुग्यो ६० करोड रुपैयाँ ?

दियो पोस्ट  

काठमाडौं । नक्सालमा कार्यालय रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषको ६० करोड रुपैयाँ रकम कोषकै उच्चअधिकारीले शंकाष्पद कारोबार गरेको पाइएको छ । गत मंसिरदेखि कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएर आएका अर्थमन्त्री जनार्दन शर्मा निकट अर्जुन भण्डारी र कोषकै प्रमुख लेखापाल विक्रान्त आचार्यको मिलेमतोमा अग्रिम घुस लिएर उक्त रकम सेन्चुरी कमर्सियल बैंकमा राखेको पाइएको हो ।

सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र कोषका सिइओ भण्डारीको मिलेमतोमा राज्यलाई गम्भिर हानी हुने गरि आर्थिक अपराध भएको खुलेको हो । दियोपोस्टलाई प्राप्त स्टेटमेन्ट अनुसार सन् २०२२ जनवरी १ मा कोषको ५९ करोड ७० लाख ६० हजार ३९५ रुपैयाँ रकम वार्षिक ३ प्रतिशत ब्याज आउने गरि सेन्चुरी बैंकको ‘कल’ एकाउन्टमा राखिएको थियो । यसअघि यस्ता रकम बैंकमा राख्दा फिक्स डिपोजिटमा राख्ने गरिन्थ्यो । यसरी राख्दा बैंकबाटमात्रै राज्यलाई वार्षिक १२ प्रतिशतका दरले ब्याज आउने गर्दथ्यो । तर, कोषको नेतृत्वमा आएका भण्डारीले अग्रिम ५० लाख रुपैयाँ घुस लिएर उक्त रकम कल एकाउन्टमा राखेको स्रोतले दियोपोस्टलाई बताएको छ ।

कोषलाई गम्भिर घाटा पुर्याएको खबर पाएपछि अर्थमन्त्री जनार्दन शर्माले समेत चासो राखेका थिए । शर्माले चासो राखेपछि मंगलबार कोषको प्रमुख कार्यकारी अधिकृत भण्डारी र लेखा प्रमुख आचार्यबीच गोप्य वार्ता भएको थियो ।

उनीहरुको वार्ता देखेपछि कर्मचारीले एक अर्कामा मुखामुख गरेका थिए । यसअघि कोषको बोर्ड बैडकमा डेपुटि सिइओ उषा पौड्याललाई समेत सहभागी गराइँदै आएको थियो । तर, आजभोली कमिशनको सुचना बाहिरिने डरले उनलाई समेत बोर्ड बैठकमा प्रवेश निषेध गरिएको छ ।

 

दियोपोस्टलाई प्राप्त पछिल्लो स्टेटमेन्ट अनुसार हाल उक्त रकम कल एकाउन्ट र करेन्ट एकाउन्टमा झिक्ने राख्ने भइरहेको देखिएको छ । ‘फिक्स एकाउन्टमा राखेको भए राज्यलाई करिब ७ करोड २० लाख रुपैयाँ वार्षिक ब्याज नै आउँथ्यो । मिलेमतोमा कल एकाउन्टमा राखेर वार्षिक ३ प्रतिशत ब्याजमा राखिएको छ । यसले राज्यलाई करोडौँ आर्थिक घाटा परेको छ,’ कोषकै उच्च स्रोतले दियोपोस्टसँग भन्यो,‘यसरी राज्यमाथिको गम्भिर आर्थिक अपराधमा कोषकै सिइओ भण्डारी, लेखा पाल र बैंकको सिइओ मनोज न्यौपानेको मिलेमतो देखिन्छ । अख्तियारले हेर्नुपर्ने मुद्दा हो यो ।’

यस विषयमा प्रतिक्रिया लिन सिइओ भण्डारीको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ थियो । यता लेखापाल प्रमुख विक्रान्त आचार्य त्यति रकम सेन्चुरी बैंकमा जम्मा नभएको बताउँछन् । ‘राख्ने त फिक्समा नै हो । त्यो पैसा त्यसरी बस्दै बस्दैन । ब्याज आएर बसेको हो । तत्कालै लगानी भइहाल्छ,’ उनले भने,‘हामीले फिक्समै राख्छौँ । कलमा राख्ने हाम्रो चलन छैन । हजुरले पुसको डाटा लिएको भए मसान्त भएर आएर बसेको होला । हरेक क्वार्टरमा जहिले पनि बैंकहरुले ब्याज हाल्दिन्छन् । त्यो तत्काल लगानी हुन्छ । एकै दिनको डाटा तलमाथि हुनसक्छ ।’

 

दायाँबाट क्रमश : भण्डारी,  न्याैपाने,  विक्रान्त

 

उनले घुस लिएको विषयमा प्रश्न गर्दा ‘त्यस्तो काममा अगाडी नरहेको’ दाबी गरे । आफूहरुमाथि अर्थमन्त्रालयले छानबीन नगर्ने उनले बताए ।

यता सेन्चुरी कमर्सियल बैंकका सिइओ मनोज न्यौउपाने पनि आफूमाथिको आरोपको खण्डन गर्छन् । कर्जा सुरक्षण कोषले आजको दिनमा यति रकम नराखेको उनले बताए । कोषका सिइओलाई घुस खुवाएको आरोपको उनले खण्डन गरे । ‘मलाई त्यस्तो कुरा थाहा हुँदैन । मलाई यति थाहा छ की निक्षेप तथा कर्जा सुरक्षण कोषको रकम कुनै समय एक अर्ब २० करोड रुपैयाँ थियो । अहिले त्यो रकम घटेर झण्डै झण्डै ५० करोडको हाराहारीमा मात्रै छ भन्ने मलाई थाहा छ । म कहाँबाट उल्टै पैसा गएको छ ।’

उनले हाल बैंकमा डिपोजिट नभएर समस्या भएको समेत बताए ।