पुँजीबजारका स्वार्थ समूहबाट जोखिम बढ्यो : अर्थमन्त्री महत

दियो पोस्ट  

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल–माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन्।

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोस्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

उनले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरूलाई इमानदार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महसुस गरेको बताए।

अर्थमन्त्री महतले सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताए। उनले सरकारले बजेटमार्फत सेयरबजारमा बढी आय गर्नेहरूलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरूले अर्थमन्त्रीले सेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्नेजस्ता दुष्प्रचार गरिरहेको बताए।

सेयर बजारमा बढी कमाउनेहरूले कर नतिर्ने चलखेल गरेको बताउँदै मन्त्री महतले सेयर बजारलाई नै पेसा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्ने दाबी गरे।