‘दिदिको परिक्षा भाई’ले दिएर मुगुमा लेखापाल नियुक्ती : गाउँपालिकाका शिक्षा  प्रमुख नै संलग्न !

दियोपोस्ट संवाददाता  

मुगु । मुगुको सोरु गाउँपालिका वडा ९ मा रहेको श्री विजय मावि कालैमा कार्यरत सहायक सिता शाहीको योग्यतामाथि प्रश्न उठेको छ । लेखा विषयमा कक्षा १२ उत्तिर्ण गरेपछि मात्रै लेखा सहायक पदमा नियुक्ती हुनुपर्ने नियम रहेपनि उनले एसएलसीको प्रमाणपत्रको आधारमा नियुक्ती हत्याएकी छिन् । यसअघि यो विद्यालयमा उनका श्रीमान लेखा सहायक पदमा कार्यरत थिए । उनको सवारी दुर्घटनामा परी निधन भएपछि खनाया गाउँ निवासी सितालाई उनका भाई तथा सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्लको सेटिङमा किर्ते गरेर नियुक्ती दिलाएको आरोप छ ।

यसरी रचिएको थियो नियुक्तीको नाटक

२०७२ सालमा रुप बहादुरको मृत्युपछि विद्यालयमा लेखापालको पद रिक्त भयो । मृत्यु भएको एक साताभित्रै नाटकीय रुपमा रुपबहादुरको सम्झनामा सितालाई नियुक्ती दिलाउनुपर्ने माग अघि सारिन्छ ।
यता विद्यालय व्यवस्थापन समितिले रिक्त पदमा विज्ञापन खुलाउँछ–२०७२ असोज १२ गते । ७ दिने दरखास्त आह्वान हुँदा असोज १३ गते सिता शाही मल्लले नाममा दरखास्त दिइन्छ । उनको निवेदनको अक्षर र प्रधानाध्यापक राम आशिष चौधरीको अक्षर मिल्दो जुल्दो देखिन्छ । ‘उनको निवेदनमै विधवा महिला भएको र घरको आर्थिक अवस्था कमजोर भएकाले नियुक्ती दिन अनुनय गरिन्छ ।

परिक्षामै किर्ते गरिएको आशंका

लेखा साहायक पदको लागि श्री विजय माविले लिएको भनिएको प्ररिक्षाको हामीलाई प्राप्त पेपर अनुसार उक्त्त परिक्षाको पेपर किर्ते गरेको शंका गर्ने धेरै आधार भेटिएको छ । पश्नोत्तरमा माथिल्लो भागमा विद्यालयको नाम लेख्दा गतल लेखेर पून विद्यालयको नाम लेखेको देखिन्छ ।

 

सुरुमा माथि अक्षर र तल परिक्षा दिएको अक्षेर कुनैपनि मिलेको देखिदैन । परिक्षा पेपर ८ वटा छन् । तर लगातार अक्षेर फरक रहेको प्रस्ट देखिन्छ । आश्चर्य त के भने सिताको नामबाट विद्यालयमा परेको निवेदनमा उल्लेखित अक्षर र उनले परिक्षामा दिएको उत्तरको अक्षर नै फरक छ । स्रोतका अनुसार परिक्षाको नाटकमात्रै गरेर प्रश्नोत्तर नै उनका भाई तत्काल सोही विद्यालयमा शिक्षक रहेका हाल मुगु सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका विरेन्द्र मल्लले तयार पारेका हुन् । विद्यालयका प्रधानाध्यापक राम आशिष चौधरीले जिल्ला शिक्षा समन्वय समिति समक्ष पेश गरेको नियुक्ती समर्थन निवेदन र सिताले दिएको निवदेनको हस्तलेखन एकै छ । तर, परिक्षामा उनले दिएको उत्तरको हस्तलेखन फरक फरक छ ।

शाही यही ‘नक्कली’ नियुक्तीको आधारमा ९ वर्षदेखि यो विद्यालयमा लेखापालको रुपमा कार्यरत छिन् । उनका भाई विरेन्द्र त्यतिबेला सोही स्कुलको शिक्षक थिए । उनले नै उक्त प्रश्नोत्तर तयार पारेर आफ्नी दिदिलाई लेखापाल नियुक्त गराउन सफल भएका थिए ।

अहिले ६ वर्षदेखि विरेन्द्र सोरु गाउँपालिकाको शिक्षा शाखा प्रमुख छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बिटालुले ‘त्यतिबेला सेतो वस्त्रमा काज किरियाकै अवस्थामा गाउँमा आई रोई कराई गरेपछि श्रीमानको सम्झाना मेटाउन’ नियुक्ती दिएको प्रतिक्रिया दिए । अन्य विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

सिता भन्छिन्,‘गाउँ समाजले श्रीमतीलाई राख्नुपर्छ भनेपछि राखियो’

यस विषयमा सिता शाहीले आफ्नो श्रीमानको देहावसानपछि गाउँसमाजकै माग अनुसार आफ्नो नियुक्ती भएको बताइन् । आफूले लेखा विषयमा कक्षा १२ उत्तिर्ण गरेको दाबी समेत गरिन् । तर, सरकारी रेकर्डमा भने उनले कक्षा १० मात्रै उत्तिर्ण गरेको प्रमाण पत्र देखिन्छ ।