धादिङमा एसपीको ‘ज्यादती’ : अपहरण शैलीमा व्यापारी पक्राउ गरेर गैरकानुनी थुनामा, आइजीकै निर्देशन अवज्ञा

दियोपोस्ट संवाददाता  

काठमाडौं । गैरकानुनी रुपमा थुनामा राखिएका धादिङका व्यवसायी सुवास बसेललाई थुनामुक्त गर्न प्रहरी प्रमुख गौतम केसीले अस्विकार गरेका छन् ।
संगठन प्रमुख आइजिपी बसन्त कुँवरले कुनै पनि नागरिकलाई गैरकानुनी थुनामा राख्न नहुने भन्दै प्रदेश प्रहरी प्रमुख डिआइजी विष्णु कुमार केसी मार्फत निर्देशन दिएपनि उनले अस्विकार गर्दै आएका छन् । प्रहरीका अन्य तीन एआइजीले समेत बसेललाई गैरकानुनी थुनामा राखिएको विषयमा चासो राख्दै थुना मुक्त गर्न निर्देशन दिएपनि एसपी केसीले अस्विकार गर्दै विगत केहीदिन देखि बसेललाई थुनामा राख्दै आएका छन् । उनले एआइजीहरुलाई समेत गलत रिपोर्टिङ गर्दै आएका छन् ।

बसेलले प्रहरीमाथि नै दुर्व्यहार गरेको भन्दै एआइजीहरुलाई उनले गलत रिपोर्टिङ गर्दै आएका छन् । त्यस्तै एसपी केसीले बसेलमाथि दियोपोस्ट डटकममा समाचार लेखाएको झूटो आरोप समेत लगाएर थुनामा राखेका छन् । कतिपय एआइजीलाई उनले दियोपोस्टमा प्रहरीको गोप्य कागजात दिएको आरोप लगाएका छन् । तर, दियोपोस्टमा पीडितले दिएको ठाडो निवेदन मात्रै प्रकाशित भएको छ । केहीदिन अघि धादिङमा दुईपक्षबीच झडप भएको र एक पक्षले दिएको ठाडो निवेदन दियोपोस्टमा प्रकाशित भएको छ । प्रहरीले सोही निवेदनको फोटो दियोपोस्टलाई दिएको भन्दै जेष्ठ ८ गते बसेललाई पक्राउ गरेको हो ।

पुछारबजारस्थित पेट्रोल पम्प व्यावसायी समेत रहेका उनी निर्माणाधिन पेट्रोल पम्पमा काम गरिरहेकै अवस्थामा प्रहरीको भ्यान पुगेको सिसिटिभी फूटेजमा देखिन्छ । प्रहरी कर्मचारलिे उनलाई जबरजस्ती अपहरण शैलीमा भ्यानमा राखेर जिप्रका पुर्याएको प्रत्यक्षदर्शीले समेत बताएका छन् ।

बसेललाई थुनाम मुक्त गर्नुअघि समाचार हटाउनुपर्ने एसपीको अनौठो बार्गेनिङ

केही महिनाअघि मात्रै धादिङ प्रहरी प्रमुखको रुपमा आएका केसीले पीडित बसेलका बुवालाई भेटेर थुनामुक्त गर्नुअघि समाचार हटाउनुपर्ने अनौठो सर्त राखेका छन् । जबकी संचार माध्यममा प्रकाशित समाचार चित्त नबुझे प्रेस काउन्सिलद्वारा जारी आचार संहिता अनुसार खण्डन गर्न पाउने कानुनी व्यवस्था छ । तर, समाचार खण्डनका लागि उनले हालसम्म एक पटक पनि सम्पर्क गरेका छैनन् । दियोपोस्टले यस विषयमा प्रश्न गर्न पटक पटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आएका छैनन् ।

शुक्रबार सुवासका बुवा राम बहादुर बसेललाई प्रहरी कार्यालयमै बोलाएर समाचार हटाउनुपर्ने सर्त राखेको उनी निकट स्रोतले जनाएको छ । यस विषयमा प्रश्न गर्न उनलाई पटक पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् ।

दियोपोस्टले यस विषयमा प्रहरी प्रमुख बसन्त कुँवरलाई प्रश्न गर्दा समाचार हटाउन कसैलाई हिरासतमा राखेर बार्गेनिङ गर्नु गैरकानुनी रहेको बताए ।